धान रोपाइँमा ढिलाइ : हालसम्म ३०–३५ प्रतिशत मात्र रोपाइँ

  असार २३, २०७९

काठमाडौँ, असार २३ : यसपालि चाँडै मनसुन सुरु भए पनि रोपाइँ ढिलो भइरहेको छ । कृषि विभागका अनुसार यो वर्ष हालसम्म मुलुकभर ३०–३५ प्रतिशत मात्रै रोपाइँ भएको छ जबकी गत वर्ष यो बेलासम्म ५० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसकेको थियो ।

कर्णाली प्रदेशमा रोपाइँ सकिन लागेको विभागले जनाएको छ । जुम्लामा ९९ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ भने हुम्लामा ९८ प्रतिशत, डोल्पामा ९५ प्रतिशत, मुगुमा ७५, सल्यानमा ७० प्रतिशत, रुकुम पश्चिममा ६८ प्रतिशत, कालीकोटमा ६० प्रतिशत रोपाइँ भएको छ ।

प्रदेश १ मा हालसम्म ३१.९६ प्रतिशत रोपाइँँ भएको कृषि विभागले जनाएको छ । प्रदेश १ को भोजपुरमा सबैभन्दा बढी रोपाइँ भएको छ । विभागका अनुसार भोजपुरमा ६० प्रतिशत, झापामा ४६ प्रतिशत, ओखलढुङ्गामा ४१ प्रतिशत, सोलुखुम्बुमा ४६ प्रतिशत रोपाइँ भएको छ । अरू जिल्लामा २० देखि ३५ प्रतिशत मात्र रोपाइँ भएको छ ।

मधेश प्रदेशमा त्योभन्दा कम रोपाइँ भएको छ । बागमती प्रदेशमा ३१ प्रतिशत रोपाइँ भएको छ । बागमती प्रदेशको काठमाडौँमा सबभन्दा बढी रोपाइँ भएको छ भने सबभन्दा कम चितवनमा भएको छ । विभागका अनुसार काठमाडौँमा ६१ प्रतिशत, ललितपुरमा ५० र भक्तपुर ५९ प्रतिशत रोपाइँ भएको छ । यसैगरी रामेछापमा २२, दोलखामा ३६, सिन्धुलीमा ४०, काभ्रेमा ५६.५ प्रतिशत रोपाइँ भएको छ भने सिन्धुपाल्चोकमा २५ प्रतिशत र सबभन्दा कम चितवनमा पाँच प्रतिशत रोपाइँ मात्र भएको छ ।

कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले यसपालि धान रोपाइँ ढिलो सुरु भएको बताउनुभयो । तराईका कतिपय ठाउँमा अझै रोपाइँ सुरु भएको छैन । हिमाल तथा पहाडको कतिपय ठाउँमा रोपाइँ सकिएको छ भने कतिपय ठाउँमा रोपाइँ जारी रहको उहाँले बताउनुभयो ।

“रोपाइँ ढिलो हुनुको मुख्य कारण सिँचाइ नै हो, मनसुन चाँडै सुरु भए पनि धान रोपाइँका लागि पर्याप्त पानी परेको छैन, धान रोपाइँका लागि पर्याप्त पानी चाहिन्छ तर चाहिने जति पानी नपरेको कारण ढिलाइ भएको हो,” उहाँले भन्नुभयो ।

रोपाइँ ढिलाइ हुनुको अर्को कारण चैते धान पनि हो । किसान चैते धानप्रति आकर्षित भएका छन् । धेरै ठाउँमा चैते धानको खेती हुन थालेको छ । चैते धान काटेर वर्षे धान लगाउनुपर्ने हुन्छ । चैते धान कटाइ ढिलो भएको कारण कतिपय ठाउँमा वर्षे धान रोपाइँमा ढिलाइ भएको विभागका निर्देशक पौडेलले बताउनुभयो ।

किसानले समयमा मल नपाएको कारणले पनि रोपाइँमा केही ढिलाइ भएको हो तर पानी परेपछि किसान मलका लागि बाटो पर्खेर बस्दैन, रोपाइँ सुरु गरिहाल्छ । रोपाइँ ढिलो सुरु भए पनि साउनको दोस्रो हप्तासम्ममा सकिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया