आर्थिक रुपान्तरणमा युवाशक्तिलाई उपयोग गर्नुपर्ने

  असार २०, २०७९

काठमाडौँ, असार २० : जिल्ला युवा समितिले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणमा युवाशक्तिलाई उपयोग गर्नुपर्नेमा जोड दिइएको छ । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको युवा परिषद्को सहकार्यमा आज काठमाडौँमा आयोजित कार्यक्रममा समाज परिवर्तनको मेरुदण्डका रुपमा रहेका युवालाई केन्द्रित गरी उद्यमशीलताको विकास गर्नुपर्नेमा सहभागीले सुझाउनुभयो ।

बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आले मगरले युवालाई नीति निर्माणदेखि नेतृत्वदायी भूमिकामा ल्याउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले निश्चित उमेर समूहका युवालाई उचित व्यवस्थापनका साथै सही मार्गनिर्देशन गर्नुपर्ने बताउँदै सरकारले युवा उद्यमशीलताका क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल, नेपाल पत्रकार महासङ्घ केन्द्रीय आम सञ्चार तथा प्राज्ञिक विभागका सदस्य कृष्णराज गौतम, नेपाल स्काउटको प्रशिक्षक सन्तोष गिरीलगायतले युवालाई आर्थिक, सामाजिक, उद्यमीशील, स्वास्थ्य एवम् खेलक्षेत्रमा थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ जिल्ला युवा समितिका अध्यक्ष रुपा थापा मगरले मुलुकको समृद्धिका लागि युवालाई आर्थिक सशक्तिकरण गर्नुपर्ने बताउँदै त्यसका लागि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने बताउनुभयो । प्रदेशका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका ३० युवालाई प्रदान गरिएको प्रकोप व्यवस्थापन र समाजसेवाका क्षेत्रमा प्रदेशस्तरीय स्वयंसेवक तालिमका प्रशिक्षार्थीलाई नेपाली सेनाका महासेनानी मुनाल बस्नेतले प्रमाणपत्र प्रदान गर्नुभयो । ‘सिर्जनशीलता र युवा उद्यमशीलता प्रर्वद्धन बागमतीमाः युवा सशक्तिकरण’ भन्ने नारासहित तालिम प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया