सहिद परिवारलाई आर्थिक सहयोग

  असार १७, २०७९

लहान, असार १७ : मधेस प्रदेश सरकारले जनयुद्धका क्रममा सहिद भएका सिरहाका ९५ परिवारलाई रु एक लाखको दरले आर्थिक सहयोग प्रदान गरेको छ ।

मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय र मधेसी सहिद प्रतिष्ठानद्वारा सिरहाको मिर्चैयामा आज आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मात्रिकाप्रसाद यादव, प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सहिद परिवारलाई प्रमाणपत्र र रु एक लाखको चेक हस्तान्तरण गर्नुभयो ।

नेता यादवले सङ्घीय सरकारले जनयुद्धका सहिदलाई सम्मान गर्न नसकेपनि मधेस प्रदेश सरकारले जनयुद्ध दिवस र सहिद परिवारलाई सम्मान तथा आर्थिक सहयोग गर्नु स्वागतयोग्य कार्य भएको उल्लेख गर्नुभयो । प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री साहले सहिद परिवारलाई सम्मान गर्न प्रदेश सरकारले कुनै कन्जुस्याइँ नगर्ने बताउनुभयो ।

प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका शहिद परिवारलाई भरणपोषण गर्न मासिक भत्ता र शहिद परिवारका छोराछोरीलाई छात्रवृत्ति दिन लागेको जानकारी दिनुभयो । गरिब, बिपन्न परिवारका बिरामीहरुलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको बताउनुहुँदै मन्त्री साहले जल विधुत आयोजनामा शहिद परिवारलाई शेयर सदस्य बनाउने योजना बनाउन लागेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया