‘विकासका कार्यमा गुणस्तर कायम राख्न नसक्दा बजेटको सदुपयोग भएन’

  असार १७, २०७९

कञ्चनपुर, असार १७ : शुक्लाफाँटा नगरपालिकामा आव ०७८-७९ मा भएका विकास निर्माणका कार्य सन्तोषजनक नभएको आज आयोजित सार्वजनिक सुनर्वा कार्यक्रमका सहभागीहरुले व्यक्त गरेका छन् । भौतिक पूर्वाधार निर्माणका कार्यमा गुणस्तर कायम राख्न नसक्दा बजेटको सदुपयोग हुन नसकेको सहभागीहरुले उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा नेकपा (एमाले)का नगर कमिटी सचिव देवदत्त भट्टले सडक कालोपत्र गरेको एक वर्ष नपुग्दै भत्किनु, निर्माण कार्य नसकिँदै नगरपालिकाको नवनिर्मित भवनको पर्खाल भत्किनु, सहरी विकास क्षेत्रीय आयोजनाअन्तर्गत निर्माण भइरहेको सडकको नालीमा कमसल खाले इँटाको प्रयोग गरी निर्माण कार्य गरिए पनि दोषीमाथि कारबाही नभएको बताउनुभयो ।

“नगरपालिकाको मुख्य झलारी बजार वर्षातका बेला डुबानमा पर्न थालेको छ”, उहाँले भन्नुभयो, “पानी निकासका लागि ढलको अहिलेसम्म व्यवस्था हुन सकेको छैन, एकै सडकमा कैयौँ पटक ग्राभेल गरियो, कुनैमा एक पटक पनि ग्राभेल हालिएको छैन ।” अनुगमनका नाममा लाखौँ रकम खर्चिए पनि गुणस्तरीय कार्य नहुनु विडम्बना भएको उहाँले उल्लेख गर्नुभयो ।

महिला समाजसेवी गोदावरी ठगुन्ना मार्कण्डेयले उपभोक्ता समिति गठन गरी ठेक्कामा योजना दिइने कार्य कसरी गरियो त्यसको जवाफ दिन माग गर्नुभयो । उहाँले सरकारी विद्यालयमा शिक्षक बढी विद्यार्थी कम भएको बताउनुभयो । “विद्यार्थीलाई सामुदायिक विद्यालयमा कसरी बढाउने भन्नेबारे कसैको ध्यान जान सकेको छैन”, उहाँले भन्नुभयो, “स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमै सर्प देखिएको छ, स्वास्थ्य क्षेत्रका भौतिक पूर्वाधारलाई सुरक्षित बनाइनु जरुरी छ ।”

नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य तेजबहादुर शाहले बजेट विनियोजन गर्दा सबै क्षेत्रमा न्यायोचित तरिकाले वितरण हुने गरी विनियोजन हुनुपर्ने बताउनुभयो । बजेटको असमान वितरणले विकासका कार्यमा अवरोध आउने गरेको उहाँको भनाइ थियो ।

शुक्लाफाँटा युथ नेटवर्कका जेनल विष्टले युवाहरु देशका मेरुदण्डका रुपमा रहेका भए पनि युवा लक्षित बजेट आउन नसकेकामा दुःखेसो पोख्नुभयो । “विगतमा पनि युवालाई लक्षित गरी बजेट आएन”, उहाँले भन्नुभयो, “यसपालिको बजेटमा समेत युवाहरुलाई स्थान दिइएको छैन ।”

युवाहरुलाई लक्षित गरी नगरपालिकाले रोजगारी, लागू औषध नियन्त्रण, खेलकुद मैदान निर्माण, युवामैत्री खेलकुद प्रतियोगिता आयोजना गर्ने लगायतका कुरा बजेटमा समेटिनुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय मुक्त हलिया समाजका जिल्ला अध्यक्ष सिवी लुहारले भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीको लगत लिँदा उठाएको राजश्वको रकमको लेखाजोखा राखिने कार्य पारदर्शी हुनुपर्ने बताउनुभयो ।

झलारी बजारका व्यवसायी मोनिका भट्टले व्यवसायी दोहोरो करको मारमा परेको चर्चा गर्दै दोहरो कर उठाउने कार्य बन्द गरिनुपर्ने बताउनुभयो । उहाँले व्यवसायीबाट उठाइएको करको रकम व्यवसायीको हितमा खर्च गर्न नगरपालिकालाई सुझाव दिनुभयो ।

नगरस्तरीय वडघर भलमन्सा समितिका संयोजक बच्चनसिंह रानाले नगरपालिकाले वडघर भलमन्सा ऐन पारित गरेर हकअधिकार स्थापित गरेको उल्लेख गर्दै त्यसै अनुरुपको बजेट विनियोजन गरी नगरपालिकाले थारू समुदायको रीतिथिति र संस्कृति जोगाउनका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

सार्वजनिक सुनवाइका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै नगर प्रमुख रणबहादुर महराले निकै गहकिला सुझाव सल्लाह प्राप्त भएकाले ती पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “प्रक्रिया र मापदण्डअनुरुप योजना सञ्चालन हुन्छन्”, उहाँले भन्नुभयो, “गुणस्तरीय योजना कसरी बनाउन सकिन्छ, यसमा बढी जोड दिन थालेका छौँ ।” एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा सहरी विकास क्षेत्रीय आयोजनाद्वारा सञ्चालित योजनामा बढी गुनासो आएको उहाँले बताउनुभयो ।

“यसबारे परियोजनाको क्षेत्रीय कार्यालयसँग समन्वय गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “ठेकेदार कम्पनीका कारण कार्य गुणस्तर नभएको गुनासो आएको छ, ठेकेदारलाई सचेत पारेका छौँ, कार्य गुणस्तरयुक्त बनाउनका लागि कार्य अगाडि बढाउँदैछौँ ।”

सबै पक्षलाई समेट्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याइएको उहाँले बताउनुभयो । प्रदेशबाट सञ्चालन हुने योजनामा समन्वयको अभाव रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले आव ०७८-७९ को जेठ मसान्तसम्मको बजेट विनियोजन र परिचालनबारे जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया