जैविक बाली संरक्षण र प्रवद्र्धन गर्न कृषि मेला

  असार १७, २०७९

खलङ्गा, असार १७ : जुम्लामा जैविक बाली संरक्षण र प्रवद्र्धनका लागि जिल्लास्तरीय स्थानीय खाद्य तथा कृषि मेला प्रदर्शनी मेला शुक्रबार आयोजना गरिएको छ । ‘अर्गानिक खेतीमा वृद्धि कर्णाली समृद्धि’ भन्ने मूल नाराका साथ एकदिने प्रदर्शनी गरिएको जुम्ला कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय बालीे प्रवद्र्धन गर्ने उद्देश्यले कार्यालयले आयोजना गरेको प्रदर्शनीमा रैथाने बाली लोप हुँदै गएकाले त्यस्ता बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न यस मेलाले यहाँका किसानलाई राम्रो सन्देश दिएको छ । मेलामार्फत स्थानीय बालीको प्रयोग गर्ने व्यवहार सुधार गरी बाह्य आयात निरुत्साहित गर्ने लक्ष्य रहेको निमित्त उहाँले बताउनुभयो दिनुभयो । स्थानीय खाद्य मेलाले स्थानीय बालीको संरक्षणमा राहत मिलेको यहाँका किसानले बताए ।

पछिल्लो समय रैथाने बालीहरु लोप हुन लागेकाले यसको उत्पादन वृद्धि र किसानलाई महत्व बुझाउन मेला आयोजना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्ला शाखाका निमित्त प्रमुख गङ्गाकुमारी पोखरेलले जानकारी दिनुभयो । कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्नु अहिलेको आवश्यकता रहेको जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले बताउनुभयो ।

जिल्लाका किसानले प्राङ्गारिक खेती उत्पादनमा बढाउन नगरपालिकाले किसानमैत्री कार्यक्रम ल्याएको चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिहं कठायतले जानकारी दिनुभयो । उक्त मेलामा तरकारी, खाद्यान्न, फलफूललगायत आठ विधामा प्रथम, दोस्रो र तेस्रो हुने किसानलाई पुरस्कार प्रदान गरिएको थियोे । बालीको शुद्धता, बालि रोगका किरा, बालीको परिपक्वता र रङ्गका आधारमा मूल्याङ्कन गरिएको थियो । स्याउ, ओखर, मूला, काँक्रा, चिनो, कागुनो, भटमास, फर्सी, टमाटर, गाजर, मास, मुसुरो, जौँ, गेरास, भाँगो, तोरी, मार्सेलगायत अन्य प्राङ्गारिक कृषि उत्पादनलाई प्रदर्शनीमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया