झापामा माटो बचाऊ अभियानकर्मी मगरलाई स्वागत

  असार १६, २०७९

बनियानी, असार १६ : ‘माटो जोगाऔँ’ भन्ने नारा लिएर मेची–काली म्याराथन दौड सुरु गर्नुभएका पर्वत जिल्लाका युवा नवीन पुन मगरलाई झापामा स्वागत गरिएको छ । माटो संरक्षणका लागि जनचेतनामूलक अभियान सञ्चालन गर्नुभएका मगरलाई आज झापामा स्वागत गरिएको हो । माटो संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको कनकाई नगरपालिकास्थित हरिकूल नमूना माविले मगरलाई स्वागत गरेको हो ।

मगरले १७ दिनअघि काठमाडौँको टुँडिखेलबाट माटो संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले म्याराथन दौड सुरु गरेर अभियानको थालनी गर्नुभएको थियो । सोही अभियानअन्तर्गत आफू झापा पाइपुगेको अभियानकर्मी मगरले बताउनुभयो ।

“विश्वमा प्रतिसेकेण्ड १२ कठ्ठा जमिन मरुभूमि बन्दै गएको छ”, उहाँले भन्नुभयो, “यस्तै हुने हो भने माटोको उर्भरतामा ह्रास हुन्छ, उब्जनी घट्छ ।” उहाँले माटोको जैविकपन कम्तीमा तीन प्रतिशत हुनुपर्ने बताउँदै नेपालमा दुई प्रतिशतभन्दा कम भइसकेको सुनाउनुभयो ।

अभियानकर्मीलाई स्वागत गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले माटो गुणवत्ता संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । “नगरपालिकाले फोहरमैला व्यवस्थापन गरेर प्राङ्गारिक मल उत्पादन थालिसकेको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाले जैविक खेतीका लागि किसानलाई प्रोत्साहनसमेत गरिरहेको छ ।”

हरिकूल माविका प्रिन्सिपल रोशन केसीले माटो जोगाउने अभियानमा आफूहरु जोडिइसकेकाले उक्त अभियानमा जोडिनका लागि सबैलाई आग्रह गर्नुभयो ।

अभियानकर्मी मगरले ७५ दिनमा तीन हजार ५०० किलोमिटरको म्याराथन पूरा गर्दै ७७ वटै जिल्लामा माटो संरक्षण अभियान सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया