आयोगले ग-यो स्थानीय निर्वाचनको समीक्षा

  असार १६, २०७९

काठमाडौँ, असार १६ : निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रदेशस्तरीय तथा केन्द्रीयस्तरको निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको छ ।

स्थानीय तह निर्वाचनमा भए गरेका असल अभ्यासको निरन्तरता, समस्याको पहिचान एवं सोको निराकरणका लागि सुझावको सङ्कलन गरी आगामी निर्वाचनमा सुधार ल्याउने उद्देश्यले आयोगले यही असार ५ गतेदेखि विभिन्न मितिमा प्रदेशस्तरीय र आज काठमाडौँमा केन्द्रीय निर्वाचन समीक्षा कार्यशाला आयोजना गरेको हो ।

केन्द्रीय निर्वाचन समीक्षा कार्यशालाको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौजुदा निर्वाचन नीति एवं कानुनी संरचनामा भएका राम्रा अभ्यास, मतदाता नामावली दर्तादेखि निर्वाचन परिणामसम्म निर्वाचन सञ्चालन तथा व्यवस्थापनका क्षेत्रमा देखिएका समस्या तथा आगामी दिनका लागि सुधारको मार्गचित्र के के हुन सक्छन् भन्ने सम्बन्धमा वस्तुगत सुझाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

पाँच विभिन्न समूहबाट तयार पारी समूहगत प्रस्तुति पश्चात कार्यशालाको समापन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले कार्यशालाबाट प्राप्तमध्ये आयोगबाट गर्न सकिने अधिकांश सुझावलाई अब आउने सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोगले निर्वाचन आयोगसम्बन्धी विधेयक एवं निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार गर्न लागेको बताउनुहुँदै उहाँले कार्यशालाबाट आएका सुझावलाई यी विधेयकमा समेटेर लैजाने बताउनुभयो ।

केन्द्रीय निर्वाचन समीक्षा कार्यशाला आयोजना गर्नुपूर्व आयोगका आयुक्तको उपस्थितिमा सम्पन्न प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्याशालामा आयोगको प्रस्तुति एवं सहभागीलाई विभिन्न पाँच समूहमा विभाजन गरी छुट्टाछुट्टै निर्वाचनका विषयमा समूहगत छलफल गराई निर्वाचनका असल अभ्यास, समस्याको पहिचान एवं सुधारका लागि सुझावहरू प्रदेशगत रूपमा आयोगलाई प्राप्त भएका छन् ।

कार्यशालामा आयोगका आयुक्तहरू, सचिव, सहसचिव, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, आयोगले खटाएका अनुगमन टोली संयोजक, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, पर्यवेक्षण संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, आमसञ्चारकर्मी, आयोगका कर्मचारी एवं कार्यशाला सम्बद्ध सरोकारवालातको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया