एपीएफ र पुलिसको लगातार दोस्रो जित

  असार १५, २०७९

काठमाडौँ, असार १५ : विभागीय टोलीहरू नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन् ।

कीर्तिपिुरस्थित कभर्डहलमा आज भएको खेलमा एपीएफले आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेका हुन् ।

एपीएफले न्यु डायमण्डमाथि २५–१२, २५–२० र २५–१४ को सोझो सेटमा जित निकाल्यो । अर्को खेलमा पुलिसले परोपकारमाथि २५–६, २५–६ र २५–११ को सोझो सेटमा जित निकाल्दै लगातार दोस्रो जित दर्ता गर्न सफल भयो ।

लगातार दोस्रो जितसँगै समान छ अङ्क जोडेको एपीएफ र पुलिस राउन्ड रोबिन लिगको एक खेल बाँकी छँदै फाइनलमा पुगेका छन् । यी दुई टोलीबीच राउन्ड रोबिन लिगमा शीर्षस्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

डायमन्ड र परोपकारले अङ्कको खाता खोल्न सकेका छैनन् । अब बिहीबार हुने राउन्ड रोबिन लिगको अन्तिम खेलबाट शीर्षदेखि चौथोसम्मको छिनोफानो हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछन् । शनिबार नै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा बिहीबार राउन्ड रोबिन लिगको अन्तिम खेलमा परोपकार र न्यु डायमन्ड तथा पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । यसपछि शीर्ष चारमा रहनेको छिनोफानो हुनेछ ।

प्रतियोगिताको विजेताले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछ । दोस्रो हुनेले रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछ । तेस्रो हुनेले रु एक लाख २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र तथा चौथो हुनेले रु ७५ हजार र प्रमाणपत्र गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । अन्य विधागत उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान रु १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य उद्देश्य न्यु डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कारबापतको २० प्रतिशत दिनुपर्नेछ ।

तपाईको प्रतिक्रिया