ओमसतियाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

  असार १४, २०७९

रुपन्देही, असार १४ : ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा आज मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेपालसँगै इन्जिनियर लवकुश चाई, सब इन्जिनियर सन्तोष भुसाल, उपभोक्ता समितिका अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्दविरुद्ध मुद्दा दायर गरेको हो ।

ओमसतिया–४ मटेरिया गाउँको मुख्य सडक पीसीसी निर्माण गर्दा सम्झौताअनुसार काम नगरी रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा दोषी पाइएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

उनीहरुले गाउँको मुख्य सडकमा पीसीसी गर्दा लागत अनुमानअनुसारको मोटाइमा ढलान नगरी सोभन्दा कममा ढलान गरेको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएकोभन्दा समग्र पीसीसी परिमाणमा बढी उल्लेख गरी रु दुई लाख ६१ हजार ८५५ सरकारी रकम नोक्सानी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले उनीहरुबाट गैरकानूनीरूपमा हानिनोक्सानी भएको दुई लाख ६१ हजार ८५५ रुपैयाँ ९० पैसा असुलउपर गर्न माग गर्दै गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया