बागमती प्रदेशसभा बैठक : विनियोजित बजेटमाथि छलफल

  असार १४, २०७९

मकवानपुर, असार १४ : बागमती प्रदेशको दशौँ अधिवेशन बैठकअन्तर्गत आज दुईवटा बैठक सम्पन्न भएका छन् । आज बसेको दुईवटै बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को लागि ल्याएको विनियोजित बजेटमाथि छलफल भएको थियो ।

आजको बसेको दुईवटै बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोग, प्रदेश नीति तथा योजना आयोग, मुख्यन्यायाधिवक्ताको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।

प्रदेशसभाको बैठकमा २६ प्रदेशसभाका सदस्यले विनियोजित बजेटमाथि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । सत्तापक्षका सांसदले विगत साढे तीन वर्षसम्म नेतृत्व गरेको तत्कालीन सरकारले भन्दा वर्तमान सरकारले राम्रो बजेट ल्याएको बताए ।

यस्तै, बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसदले प्रदेश सरकारले आगामी आवको लागि ल्याएको बजेट जनताको हितका लागि नहुने बताए । प्रदेश सरकारले जनताको हित हुनेभन्दा पनि आफ्नो कार्यकर्ता पोस्ने र निर्वाचनमुखी बजेट ल्याएको उहाँहरुको आरोप छ ।

बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो ।

तपाईको प्रतिक्रिया