संरक्षणको अभावमा नाढीमन ताल ओझेलमा

  असार १४, २०७९

सर्लाही, असार १४ : सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ मा रहेको पर्यटकीयस्थल नाढीमन ताल पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ । वडा नम्बर ६ मा ५२ बिघामा फैलिएको सो ताल अहिले करिब ३२ बिघामा खुम्चिएको छ ।

विसं २०७२ चैतमा नेपाली सेनाले तालमा विभिन्न पर्यटकीय संरचना निर्माण गरी तत्कालीन ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको भए पनि त्यसको संरक्षण नहुँदा पर्यटकीय संरचना दिनप्रतिदिन जीर्ण हुन थालेका छन् । सेनाले सञ्चालन गरेको समयमा डुङ्गा चढ्नेलगायत ताल अवलोकनका लागि आउनेको सङ्ख्या बढेकोमा अहिले सो ताल सुनसान देखिन थालेको छ ।

ताल अवलोकनका लागि मानिसको चहलपहल घटेको चन्द्रनगर गाउँपालिका– ६ का निवर्तमान वडाध्यक्ष रामचन्द्र कापरले बताउनुभयो । उहाँका अनुसार सो तालमा सेनाले सहयोग गरेका डुङ्गा अहिले बिग्रिएर थन्किएका छन् । तालमा डुङ्गा सञ्चालन हुँदा र निर्माण गरिएका पर्यटकीय संरचना चुस्तदुरुस्त हुँदा मानिसको चहलपहल बढेको थियो ।

तालमा सञ्चालन हुने डुङ्गा बिग्रिएको लामो समयसम्म सञ्चालन नगर्दा र तालको सरसफाइ सहित अन्य विकासमा ध्यान दिन नसक्दा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक आउन छोडेका स्थानीयवासीले बताएका छन् ।

कोरोना सङ्क्रमण नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण ताल अवलोकनमा बन्देज लगाइएको र सङ्क्रमण सामान्य भएपछि पनि डुङ्गा मर्मत गरेर सञ्चालन गर्न वास्ता नगरिएका कारण ताल दिनप्रतिदिन सुनसान देखिन थालेको स्थानीयवासी सुभाष पासवानले बताउनुभयो ।

मधेश प्रदेशका एक सयवटा उत्कृष्ट पर्यटकीयस्थलको रुपमा नाढीमन ताललाई समेत मधेश प्रदेश सरकारले समेटेको छ ।

आगामी दिनमा तालको विकासमा लागि पर्ने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले बताउनुभयो । उहाँले भन्नुभयो, “चाँडै डुङ्गाको मर्मत सम्भार गरी सञ्चालनमा ल्याउने छौ, अब तालको विकास हुनेगरी काम गछौँ”, गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।

तपाईको प्रतिक्रिया