मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तार भएको छ : परराष्ट्रमन्त्री

  असार १३, २०७९

काठमाडौँ, असार १३ : परराष्ट्रमन्त्री डा नारायण खड्काले वर्तमान सरकार गठन भएपछि मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तारित भएको बताउनुभएको छ ।राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सम्बन्धमा परराष्ट्र मन्त्रालयका सम्बन्धित शीर्षकमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाको विभिन्न देशको भ्रमण तथा मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले सम्बन्ध थप प्रगाढ र विस्तारित भएको बताउनुभयो ।

द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्ध थप विस्तारित भएको तथा नेपालको सार्वभौमसत्ता, अखण्डतामा कुनै पनि आँच आउन नदिइएको मन्त्री डा खड्काले स्पष्ट गर्नुुभयो ।उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाल–भारतका बीचमा नसुल्झिएका सीमा समस्या समाधानका लागि सरकारले निरन्तर प्रयास गरिहेको परराष्ट्रमन्त्रीले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक पूर्वाधारका कारण नेपाली भूमि डुबानमा पर्ने अवस्थाको अन्त्यका लागिसमेत सरकारले स्पष्ट दृष्टिकोणका साथ भारत सरकारलाई आग्रह गरिसकिएको उहाँको भनाइ छ ।

कोरोनाका कारण चीनमा अध्ययन गरिरहेका विद्यार्थीलाई सहजरुपमा अध्ययन गर्न जान दिनका लागिसमेत सरकारले कूटनीतिक प्रयास गरेको र त्यसमा सफलता हासिल हुने क्रममा रहेको बताउनुभयो ।वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले प्रयास गरिरहेको परराष्ट्रमन्त्रीले सदनलाई जानकारी दिनुभयो ।

यस्तै अफगानिस्तानमा मानवीय सहयोगका लागि पनि सरकारले प्रयास गरेको उहाँको भनाइ छ । मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवालाई प्रभावकारी र जन मैत्री बनाउन पहल गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।

राहदानी विभाग र कन्सुलर सेवालाई थप सेवाग्राहीमैत्री बनाइएको र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिएको बताउनुभयो ।सरकारले पहिलो पटक प्रा यदुनाथ खनाल प्रवचन शृङ्खला सुरु गरेको जानकारी दिँदै उहाँले केही दिन पहिले सो शृङ्खलाको पहिलो सत्र सम्पन्न भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया