ओलम्पिक दिवसमा बाँकेमा अग्रज खेलाडीलाई सम्मान

  असार ०८, २०७९

नेपालगञ्ज, असार ८ : ओलम्पिक दिवस–२०२२ को अवसरमा आज बाँकेका अग्रज खेलाडी सम्मानित भएका छन । सो क्षेत्रबाट बाँकेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सहभागी भएर बाँकेबाट नेपालको पहिचान बनाउन सफल अग्रज खेलाडीहरूलाई ‘ओलम्पिक डे–२०२२’ ले सम्मान गरिएको हो ।

स्पोर्ट्स फर अल लुम्बिनी प्रदेशले आयोजना गरेको सम्मानमा भलिबलका पुराना खेलाडी तथा अन्तर्राष्ट्रिय रेफ्री अजितकुमार शर्मा, ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डन, पुराना अग्रज खेलाडी फजल अब्बास रिज्वी, शान्ति सिंह, राकेशकुमार श्रीवास्तव, विश्वनाथ चौबे, सचितानन्द चौबे, गोबर्धन सिंह, गोविन्द श्रेष्ठ, आशोकजङ्ग थापा, विष्णुमान श्रेष्ठ सम्मानित हुनुभएको छ ।

अग्रज खेलाडीलार्ई ओलम्पिक कमिटी कोषाध्यक्ष टण्डन, खेलकुद परिषद सदस्य सुमित्रा चौधरी, नेपाली सेनाको ४ नं बाहिनी अड्डाका बाहिनीपति उत्तमकुमार विष्ट, तत्कालीन मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, नेपालगञ्जका व्यवसायी कृष्णप्रसाद श्रेष्ठ, सञ्जय थापालगायतले दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो ।

उक्त अवसरमा अन्तर्राष्ट्रिय रेफ्री शर्माले जिल्ला खेलकुदका लागि उर्बर भूमि भएको उल्लेख गर्दै यहाँको समग्र खेलको विकासमा सरकार अघि सर्नुपर्ने बताउनुभयो । उहाँले अभाव र दबाबमा सुरु भएको खेल जीवनबाट राष्ट्र र जिल्लाको पहिचान गराउन सकिएको भन्दै राज्यले अब खेल क्षेत्रमा लगानी वृद्धि गर्दै खेलाडी प्रोत्साहनको नीति ल्याए मात्र खेल र खेलाडीको विकास हुने उल्लेख गर्नुभयो ।

बाँकेबाट दुई दर्जन बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भएर देश विदेशमा समेत चर्चा कमाएको तर राज्यको ध्यान यसतर्फ जान नसक्दा उनीहरुको संरक्षणमा बजेटको सीमितताले अहिले बाँके ओझेलमा परेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया