महोत्तरीमा २२९ जनामा मोतिबिन्दु भेटियो

  असार ०८, २०७९

महोत्तरी, असार ८ : महोत्तरी जिल्लामा पाँच दिनसम्म गरिएको आँखा शिविरबाट धेरैमा मोतिबिन्दुको समस्या देखिएको छ ।

आँखा उपचार केन्द्र महोत्तरीका प्रमुख डा. बिरेन्द्र कुमार यादवले पाँच दिनसम्म जिल्लाको विभिन्न ठाउँमा गरिएको शिविरमा २२९ जनामा मोतिबिन्दु देखिएको बताउनु हुँदै अवस्था भयावह रहेको दाबी गर्नुभयो ।

उहाँले जिल्लामा हरेक चारजनामा एकजनाको आँखामा मोतिबिन्दुको लक्षण देखिनु सामान्य नभएको तर्क राख्नुहँुदै आँखालाई बचाउन आग्रह गर्नुभयो ।

उहाँले नेपाल रेडक्रस सोसाइटी महोत्तरी र आँखा उपचार केन्द्र जलेश्वरको संयुक्त आयोजना तथा डयाक फाउण्डेशन र चौधरी आँखा अस्पतालको सहयोगमा जिल्लाको मनरासिश्वा, एकडारा, बलवा, जलेश्वर र सम्सीमा सञ्चालन गरिएको आँखा शिविरमा जचाउन आएका ८७३ बिरामी मध्ये २२९ जनामा मोतिविन्दु देखिएको बताउनुभयो ।

उहाँले फेला परेकामध्ये झण्डै आधाभन्दा बढीलाई तत्कालै शल्यक्रिया गरिनुपर्ने देखिएको बताउनुहँुदै आँखासम्बन्धी बिरामीको अवस्था खतराको घण्टीमा पुग्न लागेको दाबी गर्नुभयो ।

धुलो, धुँवा, विभिन्न रोगहरु, मोबाइलको बढी प्रयोग, सुगर, ब्लडप्रेसरजस्ता रोग बढ्नु, समयमा आँखाको जाँच नगर्नेजस्ता समस्याहरुको कारणले मोतिबिन्दुको बिरामी बढेको बताउनुहुँदै उहाँले हेलचेक्राइँ गर्ने हो भने आँखाको ज्योतिसमेत गुम्न सक्ने भएकाले आँखाको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।

आँखाको कालो नानीभित्रको लेन्समा सेतो बादल जस्तो देखिनु मोतिबिन्दु रहेको र यसको एकमात्र उपचार शल्यक्रिया रहेको बताउनुहुँदै डा.यादवले भन्नुभयो, ‘‘शिविरमा फेला परेका मोतिविन्दुका बिरामीहरुलाई हामी निःशुल्क शल्यक्रिया गरेका छौं ।’’

उहाँले लहानमा रहेको सगरमाथा चौधरी अस्पतालका सर्जन डा.निमुल्हामु शेर्पा, नेत्र सहायक अभिनाश चौधरीलगायतका टिमले शल्यक्रिया गरेको जानकारी दिनुभयो ।

शिविरमा फेला परेका २२९ बिरामीमध्ये १५२ बिरामी सम्पर्कमा आएपछि उनीहरुको शल्यक्रिया गरिएको बताउनुहुँदै उहाँले शरीरका अङ्गहरुमध्ये आँखा संवेदनशील रहेकाले सबैलाई यसमा ध्यान पु¥याउन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया