काठमाडौँ, असार ७ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रचार विभागले पार्टीको मुखपत्रका रुपमा रहेको ‘समाजवाद’ प्रकाशन गर्ने भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी प्रकाशन गर्न लागिएको उक्त मुखपत्रलाई देशभर रहेका सङ्गठनमार्फत जनतालाई वितरण गरिने लक्ष्य राखिएको छ ।
मुलुकमा रहेका शोषित, श्रमिक, सिमान्तकृत तथा राज्यका मूलधारमा आउन नसकेका जनताले भोगिरहेको असमानता, शोषण, वर्गीय विभेदको अन्त्य गरी राजनीतिक पहुँच, आर्थिक तथा राजनीतिक समानताका माध्यमबाट सामाजिक रुपान्तण गर्न समाजवादको महत्व रहेको सन्देश प्रवाह गर्ने उद्देश्यले उक्त मुखपत्र प्रकाशन गर्न लागिएको प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिनुभयो ।
मानव विकास र सामाजिक कल्याणलाई प्राथमिकतामा राख्ने आदर्शका रुपमा समाजवादलाई लिएको छ । राजनीति र आर्थिक शक्तिको व्यापक विकेन्द्रीकरण गर्न समाजवादको माध्यमबाट सकिने सन्देश मुखपत्रमा समावेश गरिनेछ ।
संविधानको प्रस्तावनामा ‘समाजवाद उन्मुख’ भनेर लेखिएपछि विभिन्न दलले यसको व्याख्या तथा विश्लेषण फरकफरक रुपमा गरेको पाइन्छ । उत्पादनको स्रोत र साधनमा सामूहिक नियन्त्रण गरी समाजको हितमा प्रयोग गरिने उक्त अर्थ व्यवस्थालाई राष्ट्रिय रुपमा बहस समेत गर्न थालिएको छ । तत्कालीन नेकपा ९एमाले०बाट विभाजन भएपछि विसं २०७८ भदौ २ गते निर्वाचन आयोग दर्ता भएको नेकपा (एस) प्रतिनिधिसभामा चौथो ठूलो दलका रुपमा स्थापित छ ।






