भुटानी शरणार्थी नेता राईको निधन

  असार ०५, २०७९

दमक, असार ५ : अन्तिम समयसम्म पनि भुटानी शरणार्थीहरुको स्वदेश फिर्तीको का लागि अडान लिइरहनु हुने भुटानी शरणार्थी मानव अधिकारवादी नेता डा. भम्पा राईको निधन भएको छ ।

दमकमा तीन दशक अघिदेखि निरन्तर रुपमा भुटानी शरणार्थीहरुलाई नि:शुल्क रुपमा जाँच तथा उपचार सेवा दिइ शरणागत जीवन बिताउदै आउनु भएका ७२ बर्षीय राईको शनिवार राती नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको हो ।

शरीरमा रगतको कमी हुने समस्याको उपचार गराउदै आउनु भएका राई दमकमा एक्लै वस्दै आउनु भएको थियो । भुटानले नेपालीभाषी भुटानीलाई देश निकाला गरेपछि उहाँ आफै भुटान छाडेर नेपाल आउनु भएको बताइन्छ । भुटान सरकारको कन्सल्टेन्ट सर्जन रहे पनि त्यो त्यागेर आएर उहाँ शरणार्थीहरुको सेवामा निरन्तर लागि रहेको अवस्था थियो ।

भूटानबाट लखेटिएका शरणार्थीहरूको स्वदेश फिर्ती समितिका अध्यक्ष समेत रहनु भएका राईको घर तथा जग्गा जमिन केहि नभएपछि स्थानीय तहको निर्वाचन अघि दमक नगरपालिकाले लामो समय दमकबासी र शरणार्थीको स्वास्थ्य सेवामा समर्पित रहेको भन्दै डा. राईको बसोबासको जिम्मा स्थानीय सरकारले लिने निर्णय गरेको थियो ।

शरणार्थी नेता डा. राईले बारम्बार आफ्नो अन्तिम ईच्छा भनेको आफु तथा अहिले पनि भुटानी शरणार्थी शिविरमा रहेका शरणार्थीहरु स्वदेश फर्कन पाउनु पर्ने बताउदै आउनु भएको थियो । राईको श्रीमतिको गत बर्ष दमकमा नै निधन भएको थियो । त्यो समय श्रीमतिको उपचारमा रकम अभाव भएपछि नेपाल सरकारले पनि १० लाख सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया