जसपा विवाद : उपेन्द्रलाई प्रचण्डको साथ, देउवा पनि हच्किए

  जेठ ३१, २०७९

काठमाडौँ, ३१ जेठ : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न मधेस केन्द्रित दलका नेताहरूको दौडदौड छ । त्यो दौडमा पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई पनि रहेका छन् । सोमबार जसपाका केही नेतालाई साथमा लिएर भट्टराई प्रधामन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

उनका साथमा थिए, जसपाकै सांसद् एवं कार्यकारिणी सदस्यहरु राजकिशोर यादव र इस्तियाक राई । बाबुरामको साथमा महिन्द्र राय यादव पनि बालुवाटार जाने कुरा तय थियो । तर संसदमा उनले जवाफ दिनुपर्ने भएकाले उनी बालुवाटार गएनन् । बालुवाटार स्रोतका अनुसार भेटमा भट्टराईले प्रधानमन्त्री देउवालाई आफ्नो पार्टीको विवादको विषयबारे जानकारी गराएका थिए । ‘हाम्रो पार्टीमा अहिले विवाद चलिरहेको छ, त्यो कुरा तपाईंलाई थाहै होला । पार्टीबाट केही कुरा तपाईं समक्ष आए सबैको सहमतिमा आएको छ कि छैन, त्यो हेरेर मात्र निर्णय गर्नुहोला,’ प्रधानमन्त्री देउवा समक्ष भट्टराईले राखेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो ।

मन्त्री हेरफेरको कुरा चलिरहेको बेला पार्टी अध्यक्ष उपेन्द्र यादवले एक्लौटी ढंगले मन्त्री हेरफेर गरेर पठाउन सक्ने आशंका व्यक्त गर्दै भट्टराईले सो कुरा प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । उनले पार्टीमा चलिरहेको आन्तरिक विवादमा आफूलाई सहयोग गर्न पनि प्रधानमन्त्री देउवालाई आग्रह गरेको स्रोतले जनाएको छ । अध्यक्ष भट्टराईले पार्टीमा आफूहरुसँग बहुमत रहेको र सो बहुमतका ख्याल गर्न पनि प्रधानमन्त्री देउवालाई स्मरण गराएका थिए ।

भट्टराईसँगै प्रधानमन्त्री निवास पुगेका सांसद राजकिशोर यादवले पार्टीमा नेतृत्व र उसको कार्यशैलीप्रति असन्तुष्टि रहेको र यसबीचमा कुनै एकपक्षीय निर्णय आए त्यसमाथि विचार गर्न आफूहरुले प्रधानमन्त्री देउवालाई आग्रह गरेको बताए । ‘पार्टीमा आन्तरिक विवाद चलिरहेको छ । यस्तो अवस्थामा जे पनि हुनसक्छ । त्यही भएर पार्टीको निर्णयबाट केही कुरा आएको छ कि छैन, सहमतिमा आएको छ कि छैन, त्यो कुरा ख्याल गर्न हामीले आग्रह गरेका हौँ,’ उनले भने ।

‘जसपा फुटाउनका लागि सहयोग गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको खबर छ नि १,’ भन्ने प्रश्नमा उनले भने, ‘यो सरासर गलत कुरा हो । यसमा कुनै सत्यता छैन । हामी पार्टी विभाजनको पक्षमा छैनौँ । पार्टी लोकतान्त्रिक प्रक्रियाबाट मात्र चलोस् भन्ने हाम्रो चिन्ता हो ।’

नागरिकता विधेयक लगायतको विषयमा पनि प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएको उनले बताए । उनले भने, ‘नागरिकता विधेयक संसद्मा विचाराधिन छ । नागरिकताकै कारण धेरैको विजोग भएको छ । कसैले उच्च लिन पाएका छैनन्, विदेश जान पाएका छन्, व्यापार गर्न पाएका छैनन् । यी सबै कुराको समाधान छिट्टै गर्नुपर्यो भनेर प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएका छौँ ।’

आफूलाई सहयोग गर्न भट्टराईले आग्रह गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई सम्पर्क गरेर उनको जसपा अध्यक्ष यादवलाई सहयोग गर्न आग्रह गरेको पनि बताइएको छ । अहिलेको अवस्थामा गठबन्धनलाई जोगाउनलाई उपेन्द्र यादवलाई नै साथ दिँदा उचित हुने कुरा प्रधानमन्त्री देउवालाई अध्यक्ष प्रचण्डलाई भनेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइपछि प्रधानमन्त्री देउवा भट्टरालाई सहयोग गर्ने प्रतिबद्धताबाट पछि हटेका छन् । जसपा विवादमा यादवलाई नै प्रधानमन्त्री देउवाको साथ रहने बालुवाटार स्रोतले जनाएको छ । रातोपाटिबाट

तपाईको प्रतिक्रिया