नेपाल डिजिटल रुपान्तरणको संघारमा छ : सञ्चारमन्त्री

  जेठ २५, २०७९

काठमाडौं, जेठ २५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल डिजिटल रुपान्तरणको संघारमा रहेको बताउनुभएको छ।

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनद्वारा अफ्रिकी देश रुवाण्डामा आयोजित विश्व दूरसञ्चार विकास सम्मेलनलाई बुधबार सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो।

नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क-२०७६ लागू गरेको बताउनुहुँदै मन्त्री कार्कीले सो ‘फ्रेमवर्क’ले आर्थिक वृद्धिका लागि डिजिटल पहलकदमीले कसरी योगदान गर्नसक्छ भन्ने बारेमा मार्ग दर्शन गर्ने मूल दस्तावेज भएको स्पष्ट पार्नुभयो।

‘‘फ्रेमवर्कले छोटो समयमा थोरै स्रोत साधनले मुख्य चुनौतीलाई समाधान गर्न नवीनतम उपायहरु पत्ता लगाउन र विश्व अर्थतन्त्रमा नेपाल सहभागी हुनका लागि प्राप्त अवसरको पहिचान गर्न मार्गचित्र प्रदान गरेको छ’’, सञ्चारमन्त्री कार्कीले भन्नुभयो।

फ्रेमवर्कले एक देश, आठ क्षेत्र एवम् ८० डिजिटल कदमलाई सहभागी गरेको भन्दै मन्त्री कार्कीले सरकारका अहिलेका क्रियाकलाप डिजिटल जग बसाल्न केन्द्रित रहेको बताउनुभयो।

सो अवसरमा विश्व सेवा जिम्मेवारी कोषको उपयोग गरेर सञ्चारमा नजोडिएकालाई तत्काल जोड्न, डिजिटल अर्थतन्त्रमा सहभागी हुनका लागि व्यक्तिको क्षमता सुधार गर्न र डिजिटल सरकारको जगलाई मजबुत पार्न सरकार प्रतिवद्ध रहेको कुरा उहाँले स्पष्ट पार्नुभयो।

‘दिगो विकासका लागि सञ्चारमा नजोडिएकालाई जोड्ने’ भन्ने यस वर्षको सम्मेलनको नारा कठिन भू-बनोट, गरिबी एवम् डिजिटल साक्षरता जस्ता चुनौती भएको हाम्रो देश नेपालका लागि एकदमै सान्दर्भिक रहेको मन्त्री कार्कीले उल्लेख गर्नुभयो।

नेपाल सरकारले नीतिगत सुधार र नयाँ कानून निर्माणसँगै सन् २०२५ सम्ममा सबै क्रियाकलापमा डिजिटल प्रविधि लागू गर्ने उद्देश्य राखेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले डिजिटल रुपान्तरणमार्फत् नेपाली नागरिकलाई सशक्तिकरण गर्न सरकार कटिबद्ध  रहेको बताउनुभयो।

विश्व दूरसञ्चार युनियनमा आवद्ध देशको आपसी सहकार्यबाट ‘डिजिटल क्षमता सुधार गर्न सहयोग पुग्ने उहाँले आशा व्यक्त गर्नुभएको छ।

जेठ २१ गते सञ्चारमन्त्री कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको आयोजनामा जुन ६ देखि १६ तारिखसम्म हुने सम्मेलनमा सहभागी हुन रुवाण्डा जानुभएको हो

नेपाली प्रतिनिधिमण्डलमा सञ्चार मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडालगायत सहभागी हुनुहुन्छ। मन्त्री कार्की जेठ २८ गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया