मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु

  ८ घण्टा अगाडि

टोकियो, ३ कात्तिक : जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ । यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकहरूको अपेक्षा छ ।

जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार मानवरहित मार्सियन मुन एक्सप्लोरेसन (एमएमएक्स) यान बोकेको एच–३ रकेट जापानको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट मङ्गलबार बिहान प्रक्षेपण गरिएको हो । प्रक्षेपणको एक घण्टाभन्दा बढी समयपछि यान रकेटबाट सफलतापूर्वक छुट्टिएको थियो ।

अन्तरिक्ष यान सन् २०२७ को अगस्टमा मङ्गल ग्रहको नजिक पुग्नेछ । त्यसपछि यसले फोबोसको परिक्रमा गर्दै कम्तीमा १० ग्राम सतही पदार्थ सङ्कलन गर्नेछ । फ्रान्सेली–जर्मन रोभर ‘इडफिक्स’ ले पनि फोबोसको सतहको अवलोकन गर्दै सुरक्षित अवतरणको प्रयास गर्नेछ ।

जाक्साका अनुसार अभियानले मङ्गल र यसका दुई चन्द्रमा फोबोस तथा डिमोसको उत्पत्तिबारे जानकारी जुटाउनेछ । एउटा सिद्धान्तले मङ्गल ग्रह र अर्को खगोलीय पिण्डबीचको ठक्करबाट चन्द्रमा बनेको मान्छ भने अर्कोले ती मङ्गलको गुरुत्वाकर्षणले तानेका क्षुद्रग्रह भएको ठान्छ । यी सिद्धान्तमध्ये कुन सही हो भन्ने पत्ता लाग्दा चट्टानी ग्रहमा जीवन अनुकूल वातावरण कसरी विकास भयो भन्ने बुझ्न सहयोग पुग्ने वैज्ञानिकहरूको विश्वास छ ।

अमेरिकी अन्तरिक्ष निकाय नासाकी विज्ञान अभियान निर्देशनालयकी प्रशासक निकी फक्सले नमूना अध्ययनले भविष्यमा मङ्गल ग्रहमा मानव पठाउने तयारीमा सहयोग पुग्ने बताउनुभएको छ । अभियानमा अमेरिका, युरोपेली अन्तरिक्ष एजेन्सी, विश्वविद्यालय र प्रविधि कम्पनीहरूले पनि सहकार्य गरेका छन् ।

यसैबीच, अमेरिका र चीन मङ्गल ग्रहबाट चट्टानका नमूना पृथ्वीमा ल्याउने अभियानमा प्रतिस्पर्धा गरिरहेका छन् । नासाको ‘पर्सिभरेन्स’ रोभरले सन् २०२१ देखि मङ्गलमा नमूना सङ्कलन गरिरहेको छ । तर, अमेरिकी प्रशासनले ती नमूना पृथ्वीमा फर्काउने अभियान रद्द गरेको थियो । चीनले सन् २०२८ तिर तियानवेन–३ प्रक्षेपण गरी सन् २०३१ सम्ममा मङ्गलका नमूना पृथ्वीमा ल्याउने लक्ष्य राखेको छ । (रासस\एएफपी)

तपाईको प्रतिक्रिया