भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनःनिर्माणपछि व्यवस्थापन समितिलाई हस्तान्तरण

  जेठ १९, २०७९

काठमाडौँ, जेठ १९ : सामाजिक सेवाका क्षेत्रमा सक्रिय संस्था ‘हेल्प नेपाल’ नेटवर्कको अगुवाइमा पुनःनिर्माण गरिएको दोलखास्थित राजकुलेश्वर विद्यालयको भवन उद्घाटनपछि व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

भवनको उद्घाटन भीमेश्वर नगरपालिकाका नवनिर्वाचित प्रमुख ईश्वरनारायण मानन्धरले गर्नुभएको थियो । हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतले विद्यालय परिसरमा आयोजित कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधान र प्रधानाध्यापक प्रकाश दाहाललाई भवनको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त भएको उक्त भवनको पुनःनिर्माण राजहिटी समाजको समन्वयमा हेल्प नेपाल नेटवर्क, रोटरी क्लब अफ पाटन दरबार स्क्वायर, नेप्लिज सोसाइटी अफ टेक्सासलगायतको सहयोगमा भएको हो । कार्यक्रममा नवनिर्वाचित प्रमुख ईश्वरनारायण मानन्धरले विद्यालयको विकासमा ध्यान दिने बताउनुभयो । पूर्वमुख्य सचिव तीर्थमान शाक्यले विद्यालय पुनःनिर्माणमा रोटरी क्लबले सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो भने हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रवीन्द्र मिश्रले शैक्षिक गुणस्तरीयतामा विशेष जोड दिनुभयो ।

राजहिटी समाजका अध्यक्ष विक्रम मल्लको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेत, हेल्प नेपाल अमेरिका च्याप्टरका अध्यक्ष अभयमानसिंह श्रेष्ठ, समाजसेवी आत्मकृष्ण श्रेष्ठ, प्रधानाध्यापक प्रकाश दाहाल, वडा नं २ का अध्यक्ष स्टालिन श्रेष्ठ, व्यवस्थापन समितिका अध्यक्ष अजय प्रधानले बोल्नुभएको थियो ।

विसं २०१९ मा स्थानीय समाजसेवीको पहलमा स्थापित राजकुलेश्वर आधारभूत विद्यालयको पुरानो भवन २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएपछि राजहिटी समाजले हेल्प नेपालसँग समन्वय गरी नमूना भवन निर्माण गरेको हो । भवन निर्माणमा पाँच करोड ४५ लाख २१ हजार ६३२ रुपैयाँ खर्च भएको राजहिटी समाजले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया