जनप्रतिनिधिका निर्णय : प्राविधिक शिक्षामा छात्रवृत्तिदेखि विपन्नको स्वास्थ्य बीमासम्म

  जेठ १९, २०७९

दमौली, जेठ १९ : स्थानीय तह निर्वाचनबाट निर्वाचित तनहुँका १० वटै पालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेर कामको सुरुआत गरेका छन् । पदभार ग्रहणसँगै जनप्रतिनिधिले सर्वसाधारणका लागि हित हुने खालका निर्णय गरेका छन् ।

भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले नगरभित्र सञ्चालित विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गर्नुभएको छ । प्रत्येक वडाका एक छात्र र एक छात्रा गरी १३ वडाका २६ विद्यार्थीलाई वार्षिक रु ५० हजारका दरले छात्रवृत्ति प्रदान गरिने त्रिपाठीले बताउनुभयो ।

प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पुर्‍ययाउन उक्त निर्णय गरिएको नगरप्रमुख त्रिपाठीले जानकारी दिनुभयो । प्रत्येक वडा समितिले एक छात्र र एक छात्रालाई छात्रवृत्तिका लागि सिफारिस गर्ने नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिनुभयो ।

सो नगरपालिकामा तीन प्राविधिक शिक्षालय सञ्चालित छन् । भानु–२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन मावि, भानु–११ स्थित त्रिभुवन मावि र भानु–४ स्थित भानु संस्कृत माविमा प्राविधिक शिक्षा अध्ययन हुँदै आइरहेको छ । यी विद्यालयमा सिभिल इञ्जीनियरिङ, तीनवर्षे कृषि डिप्लोमा र १८ महिने बाली विज्ञान तथा कृषि विषयको टिएसएलसी सञ्चालनमा छन् ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ज्येष्ठ नागरिक, दीर्घरोगीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गर्नुभएको छ । उहाँले गर्भवती महिला, ६० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गर्नुभएको हो ।

आकस्मिक बिरामी, दीर्घरोगी, असहाय, अशक्तलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष चुमानले बताउनुभयो । आवश्यक परेको खण्डमा गाउँपालिका अध्यक्षले प्रयोग गर्ने सवारीसाधनलाई समेत बिरामी बोक्नका लागि प्रयोग गरिने उहाँले बताउनुभयो ।

गाउँपालिकासहित सबै वडा कार्यालयलाई सेवामैत्री बनाउन कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई सफा, शुद्ध पानीको व्यवस्था गर्ने, प्रत्येक कार्यालयमा एक कर्मचारीसहितको नागरिक सहायताकक्ष स्थापना गरिने चुमानले जानकारी दिनुभयो । चुमानले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, सडक तथा पूर्वाधार, कृषि, खेलकुदलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

म्याग्दे गाउँपालिकाले घरमा निःशुल्क नम्बर प्लेट राख्ने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पदभार ग्रहण गर्दै जीआइएसका आधारमा घर नम्बरिङका लागि निःशुल्क नम्बर प्लेट उपलब्ध गराउने निर्णय गर्नुभएको हो । गाउँपालिकाभित्रका घरको विवरण डिजिटल प्रविधिमा रुपान्तरणका लागि घर नक्सा कायम भएका घरलाई एकपटकका लागि नम्बर प्लेट निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया