उदयपुर, जेठ १६ : उदयपुरको पहाडी क्षेत्रका पालिका तथा गाउँ जोड्ने ग्रामीण सडक अहिलेसम्म पनि ब्यवस्थित नहुँदा बर्षायाममा स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । बर्षौँदेखि उही अवस्थामा रहेका ती सडक ग्राभेलिङ, कालोपत्र हुन नसक्दा वर्षायाम सुरु भएसँगै पुनःग्रामीण भेगका नागरिकले दुःखकष्ट भोग्न परेको हो ।
जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, बराह, ताम्लीछा, बासबोटे, माझखर्क तथा जाँते जोड्ने ग्रामीण सडक अहिलेसम्म पनि व्यवस्थित हुन सेकका छैनन् । यस क्षेत्रमा वर्षायाममा पानी पर्नासाथ सडक भत्कने अव्यविस्थत हुँदा यातायात सञ्चालनमा समस्या हुन थालेको यस क्षेत्रका स्थानीय तथा यातायात व्यवसायीको गुनासो छ ।
जिल्लाको रौतामाई गाउँपालिकाको भुटार, रौता, मुर्कुची, डिल्लीबर पूवाँरे, डुम्रीखर्क, नामन्त तथा उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा, तावाश्री, बर्रे खण्डका ग्रामीण सडक र ताप्ली गाउँपालिकाको पिपलभन्ज्याङ, रुपाटार, ठानागाउँ नूनथला राउतखर्क सडकखण्डमा अहिले वर्षायाम सुरु हुनासाथ यातायातका साधन सञ्चालनमा अवरोध हुन थालेको छ ।
लामो समयदेखि निर्माण भएको कच्ची सडक व्यवस्थित हुन नसक्दा यातायात सञ्चालनमा समस्या हुन थालेपछि यी ग्रामीण भेगका स्थानीयले निकै सास्ती खेप्नुपरेको ताप्ली गाउँपालिका–३ पिपल भञ्ज्याङका दीप हमाल बताउनुहुन्छ ।
जिल्लाको सदरमुकाम गाईघाट हुँदै रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे, डिल्लीबर भएर माझखर्क हुँदै लिमचुङबुङ गाउँपालिका जोड्ने ग्रामीण सडक वर्षायाम सुरुसँगै वर्षाले भत्काउन थालेपछि अहिले यातायात सञ्चालन कठिन बन्न थालेको मुर्कुचीका यातायात व्यवसायी होमबहादुर मगर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मुर्कुची,–डिल्लीबर–माझखर्क–लिम्चुङबुङ जोड्ने ग्रामीण सडकखण्ड आजभन्दा दशवर्ष अघिनै कच्ची सडकको रुपमा निर्माण भएको हो, हिउँदमा यातायात सञ्चालन गर्न अलिक सहज भए पनि वर्षा लाग्नासाथ गाडी गुडाउन ज्यानको जोखिम मोल्नुपर्छ ।”
अहिले दैनिक वर्षा हुन थालेका कारण यी क्षेत्रका सडक भत्कने र खाल्डापर्ने हुन थालेपछि सामान ढुवानी गरेर यी सडकखण्डमा यातायात सुचारु गर्न कठिनाई हुन थालेको यातायात व्यवसायी बताउँछन् । जिल्लाको पहाडी क्षेत्रका अधिकांस सडकखण्ड व्यवस्थित हुन नसक्दा वर्षा लाग्नासाथ गाउँलेहरुले अन्यत्र आवागमन तथा समान ढुवानी गर्न कठिनाई हुने गरेका कारण आफूहरुले कठिनाई भोग्नुपर्ने अवस्था सुरु भएको रौतामाई इनामेका पासाङ शेर्पाको गुनासो छ ।