पोखरा, जेठ १६ : पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको हो ।
थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका सुमित गौचन र यार्सागुम्बा खोज्न गएकाले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएका जानकारी दिनुभयो । त्यस्तै मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहानमा छरपस्ट अवस्थामा विमानको पाटपुर्जाहरु भेटिएको मध्यकमाण्ड हेडक्वाटर पोखराका कमाण्डपति उपरथी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो । सरकारले यसका बारेमा औपचारिक पुष्टि भने गरेको छैन ।
मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा टाढाबाट जहाज देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको टोली त्यसतर्फ लागेको गाउँपालिका अध्यक्ष गौचनले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले भने सेना, सशस्त्र र प्रहरीको टोली घटनास्थलमा पुगिनसकेकाले औपचारिक पुष्टि भइनसकेको जानकारी दिनुभयो ।
उद्धारमा खटिएका नेपाली सेनाको टोलीले विमान फेला पारेको जानकारी दिएको हो । यता तत्कालै त्यस क्षेत्रमा सेनाको हेलिकप्टर जाने तयारी भएको मौसमले साथदिए यात्रुहरुको मृतशरीर पोखरा ल्याउने तयारी भएको सेनाले जनाएको छ । कोवाङदेखि दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेर राति त्यहाँ बसेका करिब १०० सुरक्षाकर्मीको टोली आज बिहानै मानापाथी हिमाल आसपासको क्षेत्रतर्फ प्रस्थान गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान आइतवार बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । विकट र उच्चक्षेत्रमा विमान दुर्घटनामा परेको र ठुलो आवाज आएको स्थानीयबासीहरुले जानकारी गराएपछि त्यस क्षेत्रमा आइतबारदेखिनै खोजी कार्यतिव्र बनाइएको थियो । विमानमा दुई जर्मनी नागरिक, चार भारतीय नागरीक, १३ नेपाली नागरिक र तीन चालकदल सहित २२ जना रहेका छन् ।