च्याम्पियन पीएसजीको अन्तिम खेलमा सानदार जित

  जेठ ०८, २०७९

काठमाडौँ, जेठ ८ : फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सिजनको अन्तिम खेलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको मेट्जलाई ५–० गोलले हरायो ।

एकपक्षीय खेलमा पीएसजीलाई जिताउन केलियन एमबाप्पेले ह्याट्रिक पूरा गर्नुभयो ।  नेयमार र एन्जल डि मारियाले एक एक गोल थप्नुभएको थियो । पीएसजीले २५औं मिनेटमा एमबाप्पेको गोलबाट सुरुवाती अग्रता लिएको थियो । २८औं मिनेटमा एमबाप्पेले लियोनेल मेस्सीको पासमा व्यक्तिगत दोस्रो गोल गर्नुभयो । ३२औं मिनेटमा नेयमारले गोल गर्दै पहिलो हाफमा पीएसजीलाई फराकिलो अग्रता दिलाउनुभयो । ५०औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्नुभयो ।

५८औं मिनेटमा मेट्जका बोउबाकार दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि पाहुना टोली थप दबाबमा परेको थियो । त्यसपछि एन्जल डि मारियाले ६७औं मिनेटमा गोल गर्दै पीएसजीलाई सानदार जित दिलाउनुभयो । यसअघिनै च्याम्पियन बनिसकेको पीएसजीले अन्तिम खेलको जितसँगै ३८ खेलबाट ८६ अंक बनाएको छ । पराजित मेट्ज रेलिगेसनमा परेको छ । ३१ अंक बनाएको मेट्ज १९औँ स्थानमा रह्यो ।

तपाईको प्रतिक्रिया