पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य

  जेठ ०८, २०७९

पर्वत, जेठ ८ : पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुनसकेका छैनन् । सबै वडाध्यक्षमा पुरुष नै निर्वाचित भएका हुन् । विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बन्नुभएको थियो । जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि पराजित भएका थिए ।

विहादी १ मा नेकपा (एमाले)का चित्रबहादुर गुरुङसँग खड्का पराजित हुनुभएको हो भने कुश्मा–११ मा पनि एमालेकै बाबुराम पौडेलसँग दबाडी पराजित हुनुभएको हो । अघिल्लो स्थानीय तहको निर्वाचनमा कुश्मा–४ र ५ मा नेपाली कांग्रेसको तर्फबाट क्रमशः मीना कर्माचार्य र चित्रकला शर्मा भारती निर्वाचित हुनुभएको थियो ।

यस पटक भने वडाध्यक्षमा महिलाको सहभागिता शून्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महिला उम्मेदवारको सङ्ख्या नै कम रहेको र महिला उठेका पनि विजयी हुन नसकेकाले ६१ वडाका अध्यक्षमा महिलाको प्रतिनिधित्व हुननसकेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताउनुभयो ।

जिल्लामा एउटा पालिकाले भने महिला नै प्रमुख पाएको छ । मोदी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी हीरादेवी शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उक्त गाउँपालिकामा एमालेकै उम्मेदवार बिमल लामिछाने पनि उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गठबन्धनका कारण प्रमुख र उपप्रमुखमा जलजला गाउँपालिकाले महिलालाई पाउन सकेन ।

जलजलाको अध्यक्ष र उपाध्यक्षमा दुवै पुरुष निर्वाचित हुनुभएको छ । कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका राजु आचार्य र माओवादीबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएका दीपक आचार्य विजयी भएपछि उपाध्यक्षमा महिलाको स्थान गुमेको हो । जिल्लाका बाँकी पाँच स्थानीय तहमा भने उपप्रमुख÷उपाध्यक्ष महिलानै विजयी हुनुभएको छ ।

फलेवास नगरपालिकामा माओवादी केन्द्रबाट शोभा क्षेत्री, विहादीमा एमालेकी मीना तिवारी, पैँयू गाउँपालिकामा एमालेकै यामकुमारी राना र महाशिला गाउँपालिकामा पनि एमालेबाटै उम्मेदवार बन्नुभएकी धनशोभा विक विजयी हुनुभएको हो । जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकमा महिला उपप्रमुख वा उपाध्यक्ष हुनुहुन्छ, भने बाँकी दुई पालिकामा पुरुष उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया