धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमाल र उपप्रमुखमा एमालेका राना

  जेठ ०८, २०७९

सुदूरपश्चिम, जेठ ८ : धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २६ हजार ८६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी उपमहानगरका निवर्तमान प्रमुख नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गर्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणामअनुसार उपमहानगरको उपप्रमुखमा नेकपा (एमाले)का प्रत्यासी कन्दकला राना थारु १५ हजार ४७९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गर्नुभएको छ ।

गत निर्वाचनमा पनि उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बन्नुभएका हमाल निवर्तमान प्रमुख वडसँग झण्डै दुई हजार ७०० मतान्तरले पराजित हुनुभएको थियो । उपमहानगरको प्रमुखमा कांग्रेस र उपप्रमुख माओवादीका तर्फबाट तालमेल गरी उम्मेदवारी दिइएको थियो । वडा तहका पदमा भने आपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति सत्ता साझेदार दलहरुबीच भएको थियो । उपमहानगरका अधिकांश वडामा अध्यक्ष र सदस्य पदमा कांग्रेसका प्रत्यासी विजयी भएका छन् ।

प्रमुखमा विजयी हमालले विगतमा कैलाली उद्योग वाणिज्य सङ्घको नेतृत्व गर्दा ‘सुन्दर सुदूरपश्चिम प्रदेश अभियान’ को सुरुवात गर्नुभएको थियो । धनगढीका व्यवसायी हमालको सामाजिक सेवामा योगदान रहेको छ । उहाँकै अग्रसरतामा केही वर्षदेखि धनगढीमा कपडा बैंक सञ्चालनमा छ । बैंकमा एक पटक प्रयोग भएका कपडा पनि लगाउन मिल्ने व्यवस्था छ । बैंकबाट कपडा सित्तैमा उपलब्ध गराउने गरिएकाले गरीब तथा न्यून आय भएका वर्गका व्यक्तिलाई ठूलो राहत मिलेको छ ।

त्यस बैंकमा इच्छुक व्यक्तिले तयारी कपडासमेत उपलब्ध गराउने गरेका छन् । हमालले केही वर्षदेखि धनगढीमा निःशुल्क शब वाहनको पनि व्यवस्था गर्नु भएको छ । यसबाट मृतक व्यक्तिको अन्तिम संस्कारका बेला सम्बन्धित परिवारलाई ठूलो सहयोग पुगेको छ ।

मतगणनास्थलमा पत्रकारसँग कुरा गर्दै नवनिर्वाचित प्रमुख हमालले उपमहानगरपालिकाले गर्ने काम पारदर्शी, जनमुखी र भ्रष्टाचाररहित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘पक्षपातरहित ढङ्गले सबैको सहयोगमा धनगढीको विकास र समृद्धिका पक्षमा काम गरिने छ ।’’

यसैबीच धनगढी उपमहानगरको चुनावको अन्तिम नतिजा आएसँगै कैलालीका सबै १३ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जिल्लामा नागरिक उन्मुक्ति पार्टीले चार पालिका प्रमुख र तीन पालिका उपप्रमुखमा विजयी हुँदै पहिलो दल बनेको छ । कांग्रेस तीन पालिका प्रमुख र पाँच पालिका उपप्रमुखमा, एमाले दुई पालिका प्रमुख र तीन पालिका उपप्रमुख, माओवादी दुई पालिका प्रमुख र दुई पालिका उपप्रमुख, नेकपा (एकीकृत समाजवादी) एक पालिका प्रमुखमा विजयी भएको छ ।

माओवादी, कांग्रेस र एकीकृत समाजवादीबीच जिल्लाका पालिकाको प्रमुख÷उपप्रमुख पदमा तालमेल गरिएको थियो । सत्ता साझेदार दलहरुबीच गरिएको तालमेलअनुसारको नतिजा घोडाघोडी र गौरीगङ्गा नगरपालिका र मोहन्याल गाउँपालिकामा आएको छ । अन्य पालिका तहमा तालमेल अनुसारको नतिजा आउन सकेन । विसं २०७४ को निर्वाचनमा जिल्लामा एमालेले सात पालिका, कांग्रेसले तीन, माओवादीले दुई र तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले एक पालिका प्रमुखमा विजयी भएको थियो ।

तपाईको प्रतिक्रिया