विराटनगर महानगर प्रमुखमा कांग्रेसका कोइराला विजयी

  जेठ ०७, २०७९

विराटनगर, जेठ ७ : मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले २५ हजार ६८० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गर्नुभएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले वडा नं १, २, ३, ४, ८, १०, ११, १४ र १९ का वडाध्यक्षमा विजयी भएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार ५, ६, ७ ९, १५, र १६ वडाको अध्यक्षमा विजयी भएका छन् । यसैगरी जनता समाजवादी पार्टीले वडा नं १२ र १७, राप्रपा १३ र स्वतन्त्र १८ को वडाध्यक्षमा निर्वाचित भएका छन् ।

महानगरवासीले अनुभूत हुनेगरी काम गर्छु : प्रमुख कोइराला
विराटनगर महानगरपालिकाको प्रमुख पदमा फराकिलो मतान्तरसहित विजयी हुनुभएपछि गोरखापत्रसँग कुरा गर्दै नागेश कोइरालाले महानगरका जनतालाई अनुभूत हुनेगरी काम गर्ने वताउनुभएको छ ।

घोषणापत्रमा सार्वजनिक भएका कुराहरुभन्दा अझ बढी कामहरु हुने बताउँदै कोइरालाले निर्वाचनमा सहभागी हुदाँ नेपाली कांग्रेसको प्रतिनिधित्व गरेर सहभागी भए पनि अब आफू महानगरका सबै दलहरुको प्रमुख भएको उद्घोष गर्नुभएको छ ।

“महानगरमा बोझको रुपमा रहेको कर घटाउँदै  करको दायरा बढाउने मेरो पहिलो एजेण्डा हुनेछ,” उहाँले भन्नुभयो, “भ्रष्टाचार निर्मूल पार्दै जनहितका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।” लोकप्रियताका लागि पूरा गर्न नसकिने योजना भन्दा जनतालाई सहयोगी हुने साना योजनाहरु महानगरमा संचालन हुने समेत उहाँको भनाइ छ । उपप्रमुख कार्कीले संविधानले तोकेको अधिकारलाई प्रयोग गर्दै न्यायको अनुभूति हुनेगरी कार्य सम्पादनमा जोड दिने वताउनुभयो ।

‘‘म कानुन बनाउने, प्रचलित कानुनलाई उपयुक्त तरिकाले प्रयोग गर्ने र जनतालाई न्यायको अनुभूति दिने गरी काम गर्छु,’ कार्कीले भन्नुभयो ‘मलाई साथ सहयोग गरी उपमेयरमा जिताउनका लागि सबै पार्टीबाट सहयोग भएको छ, म पार्टीबाट निर्वाचित भएँ, तर निष्पक्ष रूपमा जनताको सेवा गर्छु ।’ एक लाख ३३ हजार १४२ मतदाता रहेको विराटनगर महानगरपालिकामा ८९ हजार ६७८ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया