गैँडाकोट नगरपालिका प्रमुख–उपप्रमुखमा कांग्रेस

  जेठ ०४, २०७९

नवलपुर, जेठ ४ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गैँडाकोटमा नगरप्रमुख गुमाएको कांग्रेसले यसपटक बहुमत वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुख जितेको हो ।

गैँडाकोटको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मदनभक्त अधिकारी निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पछि पार्दै गैँडाकोटको नगरप्रमुखमा अधिकारी विजयी हुनुभएको हो । नगरप्रमुखमा निर्वाचित अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तनमा नगरप्रमुख समेत रहनुभएका एमाले उम्मेदवार पौडेलले १३ हजार ६०६ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी गैँडाकोट नगर उपप्रमुखमा समेत कांग्रेसकी उम्मेदवार शान्ति कोइराला निर्वाचित हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर उपप्रमुखका उम्मेदवार तुलाराम पौडेललाई करिब दोब्बर मतान्तरले पराजित गर्दै कोइराला नगर उपप्रमुखमा निर्वाचित हुनुभएको हो । नगर उपप्रमुखमा निर्वाचित कोइरालाले १६ हजार ११४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी पौडेलले आठ हजार ६४० मतमात्रै प्राप्त गर्नुभयो ।

जम्मा १८ वटा वडा रहेको गैँडाकोटमा नगरप्रमुख र उपप्रमुख जितेको कांग्रेसले ११ वटा वडाध्यक्ष समेत जितेको छ । गैँडाकोटको नगरप्रमुख गुमाएको एमालेले ६ वटा वडाध्यक्ष जितेको छ भने नेकपा (माओवादी केन्द्र)ले एउटा वडाध्यक्ष जितेको छ ।

तपाईको प्रतिक्रिया