अर्जुनचौपारीको प्रमुखमा तिवारी र उपप्रमुखमा गुरुङ विजयी

  जेठ ०४, २०७९

वालिङ, जेठ ४ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी हुनुभएको छ । अध्यक्षमा विजयी हुनुभएका तिवारीले नेकपा (एमाले)का चीनमाया गुरुङलाई एक हजार ९४४ मतान्तरले पछि पार्नुभएको निर्वाचन अधिकृत शुभाकर पौडेलले जानकारी दिनुभयो ।

तिवारीले पाँच हजार २९१ मत प्राप्त गर्दा गुरुङले तीन हजार ३४७ मत ल्याउनुभयो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गुरुङ उपप्रमुखमा विजयी हुनुभएको थियो । त्यस्तै उपप्रमुखमा कांग्रेसकै सपना गुरुङ विजयी हुनुभएको छ । गुरुङले एमालेका टङ्कप्रसाद खनाललाई एक हजार ६० मतले पराजित गर्नुभएको हो । गुरुङले चार हजार ८२७ मत ल्याउँदा खनालले तीन हजार ७६७ मत प्राप्त गर्नुभयो ।

छवटा वडा रहेको अर्जुनचौपारी गाउँपालिकाको १, २, ३, ४, ५ नं वडामा कांग्रेस, वडा नं ६ मा एमाले विजयी भएको निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । कूल १३ हजार ८६७ मतदाता रहेको अर्जुनचौपारीमा ६५.८१ प्रतिशत मत खसेको थियो । पुरुष चार हजार १९८ र चार हजार ९२८ महिला गरी कूल नौ हजार १२६ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया