कामपाका स्वतन्त्र उम्मेदवार बालेन्द्र चार हजार ८७७ मतले अगाडि

  जेठ ०३, २०७९

काठमाडौँ, जेठ ३ : काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले ११ हजार ४२ मत प्राप्त गर्दा केशव स्थापितले ६ हजार १६५ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्रतर्फबाट उम्मेदवारी दिनुभएको बालेन्द्र शाहले नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)को तर्फबाट प्रमुखमै उम्मेदवारी दिनुभएका स्थापितलाई चार हजार ८७७ पछि पार्दै आफ्नो अग्रता कायम राखेका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले पाँच हजार ३८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ । उपप्रमुख पदमा एमालेका तर्फबाट सुनिता डङ्गोलले ११ हजार ४८५ मतले अग्रस्थानमा रहनुभएको छ ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले दुई हजार ७८४ मत प्राप्त गर्नुभएको छ । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ३, ४, ५, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।

वडा नं १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।

तपाईको प्रतिक्रिया