एट्लेटिकोले जित्दा सेभिया बराबरीमा रोकियो

  बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : स्पेनिस ला लिगाको शीर्ष चारको होडमा रहेको एट्लेटिको म्याड्रिडले जित्दा सेभिया भने बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई उसैको मैदानमा २–० गोलले हरायो । घरेलु मैदानमा भएको अर्को खेलमा सेभिया मालोर्कासँग गोलरहित बराबरीमा रोकियो ।

एट्लेटिकोको जितमा म्याथिअस कुन्हा र रोड्रिगो डि पउलले गोल गर्नुभयो ।  म्याथिअसले २८औँ र रोड्रिगो डि पउलले ६२औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै एट्लेटिकोले सेभियालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोको ३६ खेलबाट ६७ अङ्क छ । सेभियाको ६६ अङ्क छ । एट्लेटिकोसँग पराजित इल्चे ३९ अङ्क सहित १४औँ स्थानमा छ ।

बुधबार सेभियाको बराबरीले एट्लेटिकोलाई फाइदा पुगेको हो । खेलभर मालोर्कालाई दबाबमा राखेपनि सेभियाले गोल गर्न सकेन । बराबरीसँगै ३३ अङ्क बनाएको मलोर्का १८औँ स्थानमा छ । लिगको उपाधि रियल म्याड्रिडले जितिसकेको छ । शीर्षस्थानमा हरेको रियलको ८१ अङ्क छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७२ अङ्क छ ।

तपाईको प्रतिक्रिया