लाक्पाले गर्नुभयो १० औं पटक सगरमाथाको आरोहण

  बैशाख २९, २०७९

काठमाडौं, वैशाख २९ : सङ्खुवासभामा जन्मिनु भई हाल अमेरिका निवासी आरोही गाइड लाक्पा शेर्पाले बिहीबार बिहान ६ः१० बजे १० औं पटक सगरमाथाको आरोहण गर्नुभएको छ ।

सर्वाधिक महिला सगरमाथा आरोहीको रुपमा आफैले राखेको नौ पटकको आरोहण कीर्तिमानलाई तोड्दै उहाँले १० औं पटक सगरमाथाको आरोहण गर्नुभएको आयोजक कम्पनी सेभेन समिट क्लवका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो । ४८ वर्षीया लाक्पाले अमेरिकी आरोही सहितको टोलीलाई आरोहण गराउन गाइडको भूमिकामा सगरमाथाको आरोहण गर्नुभएको हो ।

उहाँसँगै चारजना शेर्पा र एक अमेरिकी आरोही पनि चुचुरोमा पुग्नुभएको प्रमुख शेर्पाले जानकारी दिनुभयो । सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पासाङ ल्हामु शेर्पा पछि लाक्पा शेर्पाले दोस्रो पटक आरोहण गर्नुभएको थियो । हाल ४९ जना नेपाली महिलाले सगरमाथाको आरोहण गरिसकेको पर्यटन विभागको तथ्याङक छ ।

लाक्पाले २६ वर्षको उमेरमा सन् २००० मा पहिलोपटक सगरमाथाको आरोहण गर्नुभएको थियो । त्यसपछि क्रमस २००१, २००३, २००४, २००५, २००६, २०१६, २०१७, २०१८ मा सगरमाथाको आरोहण गरेका गरिसक्नुभएको छ ।  शेर्पाले हालसम्म दुई पटक नेपाल तर्फबाट र आठ पटक तिब्बततर्फको बाटोबाट सगरमाथाको आरोहण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया