जेठ २९ देखि भैरहवामा जजिराको नियमित उडान

  बैशाख २९, २०७९

भैरहवा, बैशाख २९ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो नियमित व्यवसायिक उडान  कुवेतको जजिरा एयरवेजले जेठ २९ गतेबाट गर्ने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको अनुमति लिएको जजिराले उदघाटन उडान भने जेठ २ गते बुद्ध पूर्णिमाका दिन गर्ने भएपनि व्यवसायिक उडान भने २९ गते देखि गर्ने भएको छ । सरकारले विमानस्थल उदघाटन पनि जेठ २ गतेनै गर्ने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार जजिराले जेठ २९ गतेदेखि सातामा तीन दिन उडान भर्ने बताउनुभयो ।

जजिरा एयरवेजले अहिले काठमाडौंमा दैनिक एक उडान गरिरहेको छ । जजिराले सार्वजनिक गरेको तालिका अनुसार भैरहवाका लागि उड्ने जहाज कतारको दोहाबाट कुवेत जानेछ । कतारबाट सिधै भैरहवा आउन चाहने यात्रुले समेत यस उडानमा सेवा लिन सक्ने भएका छन् । कुवेतमा ट्रान्जिट भई भैरहवा आउन पाउने सुविधा अव मिल्ने छ । जहाज सिधै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने भएको छ ।

जेठ २ गते स्थानीय समय अनुसार ६ बजेर २० मिनेटमा दोहाबाट उड्ने जहाज स्थानीय समय अनुसार ७ः४५ बजे कुवेत अवतरण गर्नेछ । यो जहाज कुवेतमा चार घण्टा ट्रान्जिट गरी स्थानीय समय अनुसार २३ः४५ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि जहाज उड्ने छ । यो जहाज नेपालको स्थानीय समयअनुसार बिहान ७ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ ।

“नियमित उडान भने २९ जेठ (१२ जुन) बाट सुरु हुनेछ । सो बेला भने दोहाबाट १५ः३० मा उड्ने जहाज कुवेतमा एक घण्टा ३५ मिनेट ट्रान्जिट गरी भैरहवाका लागि उड्ने छ”- महाप्रवन्धक दाहालले भन्नुभयो । सार्वजनिक तालिका अनुसार नेपाली समय अनुसार राति १ः४५ बजे जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण हुने छ ।

यो विमानस्थल सञ्चालनसँगै वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि अरवमुलुक प्रवेश गर्ने नेपालीका लागि सहज हुने भएको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकका लागिसमेत थप सहज हुने अपेक्षा विमानस्थलले गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया