काठमाडौँ, वैशाख २२ : कोरोनाको महामारीले सबैभन्दा बढी असर पारेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्गिँ्रदै छ । अहिले विदेशी पर्यटकको आगमन पनि क्रमशः बढिरहेको छ । राजधानी काठमाडौँसहित प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढ्नाका साथै भरिभराउ पनि भएका छन् ।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो । सन् २०२१ को अप्रिल महिनामा २२ हजार ४५० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस वर्षको अप्रिल महिनाको पर्यटक आगमन कोरोना महामारीपछि सबैभन्दा बढी हो । यस वर्षको सुरुआती महिनादेखि निरन्तररूपमा विदेशी पर्यटकको आगमन बढिरहेको छ ।
सन् २०२२ को जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६ र मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा हिमाल आरोहणको याम भएकाले पनि विदेशी पर्यटक बढेका हुन् । यतिखेर पर्वतारोहण र पदयात्राको उपयुक्त बेला भएकाले पनि विदेशी उल्लेख्य सङ्ख्यामा आइरहेका छन् । पर्यटन विभागका अनुसार सगरमाथासहित हिमाल आरोहणका लागि ११ आरोही समूहका ८९९ आरोहीले आरोहण अनुमति लिएका छन् । सन् २०२१ मा डेढ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२० मा दुई लाख ३० हजार र सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक भित्रिएका थिए । यो वृद्धि १२दशमलव पाँच प्रतिशतले भएको थियो ।
पन्ध्रौँ पञ्चवर्षीय योजनामा पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा लिइएको छ । नेपालले विश्वकै आकर्षक गन्तव्य विकास र गुणस्तरीय पर्यटन सेवा दिने नीति लिएको छ । स्थानीय तहको निर्वाचन देशभर यही वैशाख ३० गते हुँदैछ । स्थायी सरकारको महत्वपूर्ण संरचना जनतासँग प्रत्यक्ष जोडिने भएकाले पनि स्थानीय तहको चासो स्वभाविक हुन्छ । सोही निर्वाचनलाई लक्ष्य गरेर राजनीतिक दलले आ–आफ्ना निर्वाचनको घोषणापत्र सार्वजनिक गरेका छन् ।
देशको अर्थतन्त्रको दरिलो आधारका रूपमा रहेको पर्यटनलाई प्रमुख राजनीतिक दलले पनि उच्च प्राथमिकता दिएर आगामी रणनीतिहरू बनाएका छन् । उनीहरुले पर्यटन क्षेत्रलाई राष्ट्रिय आयआर्जनको एक महत्वपूर्ण स्रोतका रूपमा अघि बढाउन उच्च प्राथमिकता दिएका हुन् । नेपाललाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरी जनताको जीवनस्तर उकास्ने र राष्ट्रिय आयआर्जनको एक महत्वपूर्ण स्रोतका रूपमा यसलाई अघि बढाउन उच्च प्राथमिकता दिइने दलको प्रतिबद्धता छ ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादीलगायत पार्टीले आ–आफ्नो चुनावी घोषणपत्रमार्फत पर्यटन प्रवद्र्धनका महत्वकाङ्क्षी योजना अघि सारेका हुन् ।






