स्थानीय निर्वाचनका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ

  बैशाख ०५, २०७९

काठमाडौं, वैशाख ५ : निर्वाचन आयोगले ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ सकेको छ । सोमबार नियमित पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि आवश्यक मतपत्र छपाइ सकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार एक करोड ९४ लाख थान मतपत्रमध्ये ४६ जिल्लाका लागि आवश्यक पर्ने ९५ लाख २५ हजार मतपत्र छपाइ सकिएको छ ।

यसैगरी, आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेश गर्न पत्राचार गरेको छ । आयोगका प्रवक्ता पौडेलले जवाफ आउने क्रम जारी रहेको जानकारी दिनुभयो ।

त्यस्तै, ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा तथा वैशाख २ गते जनकपुर, हेटौडा, बुटवल र धनगढीमा सम्पन्न भएको आयोगले जनाएको छ । पौडेलका अनुसार प्रशिक्षणपछि सोही स्थानबाट निर्वाचन अधिकृतहरूलाई नियुक्तिपत्र दिइएको छ ।

स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ दिइएको हो ।

तपाईको प्रतिक्रिया