एफएनजे मिडिया कप फुटसलको सेमिफाइनल समीकरण पूरा

  चैत २८, २०७८

काठमाडौँ, चैत २८ : पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित प्रथम मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । ललितपुरको नेशनल स्पोट्र्स सेन्टरमा आयोजित प्रतियोगिताको अन्तिम चारमा प्रवेश पाउने टोलीमा न्यूज २४ टेलिभिजन, टिम शिलापत्र, पत्रकार महासङ्घ कास्की शाखा र पत्रकार महासङ्घ ललितपुर शाखा छन् ।

पहिलो क्वार्टरफाइनलमा न्यूज २४ ले नेपाल खेलकूद पत्रकार मञ्चलाई ५–३ गोल अन्तरले हरायो । त्यस्तै टिम शिलापत्रले दोस्रो क्वार्टरफाइनलमा फोटो जर्नलिष्ट क्लबलाई ४–३ ले पराजित ग¥यो । पत्रकार महासङ्घ कास्की शाखाले नेपाल चलचित्र पत्रकार सङ्घलाई २ का विरुद्ध १० गोलले हरायो । सो खेलमा कास्कीका पूर्ण न्यौपाने एक्लैले ५ गोल गरे । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा महासङ्घको ललितपुर शाखाले नयाँ पत्रिका दैनिकलाई ४–१ ले पाखा लगायो । सो खेलमा परिवेश पोखरेलले ललितपुरका लागि चार गोल गरेका थिए ।

पहिलो सेमिफाइनल भोलि न्यूज २४ र कास्की तथा दोस्रो टिम शिलापत्र र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले रेफ्रीलाई बल हस्तान्तरण गरेर गर्नुभएको थियो । उद्घाटन खेलमा नेपाल खेलदकूद पत्रकार मञ्चले हाम्रो सञ्चार डट कमलाई ५–३ ले हराएको थियो ।

त्यस्तै न्यूज २४ ले ईकागजलाई १६–० को अन्तरमा हरायो । सो खेलमा न्यूज २४ का सुरज महर्जन एक्लैले ७ गोल गरे । ग्यालेक्सी फोरके टेलिभिजन अनुपस्थित भएपछि पिजे क्लबले बाइ पाएर सिधै क्वार्टरफाइनल प्रवेश गरेको थियो । चौथो खेलमा टिम शिलापत्रले महासङ्घको काठमाडौँ शाखालाई ६–४ ले हराएको थियो ।

अनलाइन खबर अनुपस्थित भएपछि महासङ्घको कास्की शाखाले बाइ पायो । चलचित्र पत्रकार सङ्घले नेपाल टेलिभिजनमाथि ६–२ गोल अन्तरको जित निकाल्यो । महासङ्घको ललितपुर शाखाले प्रेस चौतारी रुपन्देहीलाई ६–० ले हरायो । प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा नयाँ पत्रिकाले पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखालाई १–० ले हराएको थियो ।

बीमा समितिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा १६ टोलीको सहभागिता छ । नेपाल बंैक लिमिटेड, महालक्ष्मी विकास बैंक र सिटिजन्स बैंकले प्रथम मिडिया कप फुटसललाई प्रायोजन गरेका छन् ।

नकआउटका आधारमा खेलाइएको प्रतियोगिताको विजेताले रु २५ हजार र उपविजेताले रु १५ हजार नगद प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने फुटसल प्रतियोगिताका संयोजक एवं पत्रकार महासङ्घका केन्द्रीय सचिव पवन आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया