आयोजकलाई बिटी कप फुटबल प्रतियोगिताको उपाधि

  चैत २६, २०७८

कास्की, चैत २६ : आयोजक बिटी क्लब पोखराले यहाँ सञ्चालन भएको १५औँ संस्करणको ‘बिटी कप तथा पाँचौँ विरेन स्मृति सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि जितेको छ ।

यही चैत १८ गतेदेखि पोखरा महानगरपालिका–१ बगरस्थित पुरानो टुँडिखेलमा सञ्चालन भएको प्रतियोगिताको आज भएको फाइनल खेलमा लेकसाइड एफसीलाई २१–२० गोलअन्तरले पराजित गर्दै आयोजक टोली पहिलोपटक च्याम्पियन बन्न सफल भयो ।

दुवै टोलीबाट खेलको निर्धारित समयमा गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । पेनाल्टीमा पनि लामो समय बराबरी भयो । टाइब्रेकरमा दुवै टोलीका प्रत्येक खेलाडीले समान तीन–तीन पटकसम्म पेनाल्टी प्रहार गरेका थिए ।

‘सडन डेथ’मा लेकसाइडका डिफेण्डर जीवन गुरुङको प्रहारलाई रोक्दै आयोजकका गोलरक्षक राजाबाबु मगरले बिटी क्लबलाई उपाधि दिलाउनुभयो । च्याम्पियन बनेको आयोजकले नगद रु एक लाख ५१ हजार १५१ तथा उपविजेता लेकसाइडले नगद रु ९१ हजार १११, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

प्रतियोगितामा विधागततर्फ आयोजकका कप्तान अन्जन देवकोटा सर्वोत्कृष्ट खेलाडीको रूपमा घोषित हुँदै ट्रफी र नगद रु सात हजार पुरस्कार पाउनुभयो । यसैगरी सर्वाधिक गोलकर्ताका रूपमा तारा एफसीका अजित गुरुङ घोषित हुँदै रु सात हजार पुरस्कार पाउनुभयो । उहाँले खेल अवधिभर पाँच गोल गर्नुभएको खेल संयोजक क्रिविन गुरुङले जानकारी दिनुभयो ।

उत्कृष्ट डिफेण्डरका रूपमा लेकसाइडका जीवन गुरुङ, उत्कृष्ट मिडफिल्डरका रूपमा आयोजकका विष्णु थापा, उत्कृष्ट गोलरक्षकका रूपमा आयोजककै राजाबाबु मगर घोषित हुँदै जनही रु पाँच हजारका दरले पुरस्कार पाउनुभयो । अनुशासित टिम घोषित भएको करपुटार एफसीले रु आठ हजार पुरस्कार प्राप्त ग¥यो । प्रतियोगितामा ६२ टोलीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया