प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

  चैत २५, २०७८

सुदूरपश्चिम, चैत २५ : सुदूरपश्चिम प्रदेशसभाको नवौँ अधिवेशन (हिउँदे अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर आज राति १२ बजेदेखि अन्त्य गरिएको जानकारी गराउनुभयो ।

यही चैत १३ गते हिउँदे अधिवेशन शुरु भएको थियो । यो अधिवेशनका बैठकले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक र दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित गरेको छ ।

पर्याप्त काम (बिजनेश) नहुँदा प्रदेशसभाको हिउँदे अधिवेशनअन्तर्गतका नियमित बैठक यो अवधिमा तीन पटक सूचना टाँस गरी स्थगित गरिएको थियो ।

आजको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र आर्थिक मामिलामन्त्री तारालामा तामाङले छुट्टाछुट्टैरूपमा मन्त्रालयको कामसँग सम्बन्धित विषयमा उठाइएका जिज्ञासाका बारेमा सदनलाई जानकारी गराउनुभएको थियो ।

बैठकको प्रारम्भमा दिइएको शून्य समयमा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल, कुन्ती जोशी, महेशदत्त जोशी र रतन थापाले प्रदेशका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया