राष्ट्रसंघको मानवअधिकार परिषद्बाट रुस निलम्बित

  चैत २५, २०७८

वासिङ्टन चैत २५ : रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट निलम्बन गरिएको छ । राष्ट्रसंघीय महासभामा मतदान हुँदा रुसका विरुद्धमा पर्याप्त मत परेकाले परिषद्बाट रुस निलम्बित भएको हो । रुसले युक्रेनमाथी आक्रमण गरेर मानवअधिकार उलङ्घन गरेकाले मानवअधिकार परिषद्मा बस्न रुसलाई दिन नहुने भन्दै रुसलाई निलम्बन गरिएको जनाइएको छ ।

महासभामा भएको मतदानमा रुसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो । त्यसैगरी ५८ देश मतदानमा सहभागी भएका थिएनन् । रुसलाई मानव अधिकार परिषद्बाट निलम्बित गरिएकोप्रति अमेरिकाका राष्ट्रपति जो बाइडेनले खुशी व्यक्त गर्नु भएको छ । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्ल्याउनु पर्नेमा जोड दिनुभयो ।

“संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् रुसलाई रहन नदिएकोमा मलाई अत्यन्त खुशी लागेको छ, राष्ट्रसंघीय महासभामा रुसविरुद्ध मतदान गर्नेहरुलाई धन्यवाद छ,” राष्ट्रपति बाइडेनद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । परिषद्बबाट रुसलाई हटाउनु अन्तर्राष्ट्रिय रुपमा अर्थपूर्ण घटना भएको पनि उहाँले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया