चौबाटार सिँचाइ योजना सम्पन्न

  चैत २५, २०७८

अर्घाखाँची, चैत २५ : अर्घाखाँचीकै गौरवको योजनाका रुपमा रहेको चौबाटार सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । छत्रदेव गाउँपालिका–ठूलापोखरास्थित उक्त सिँचाइ योजना सम्पन्न भएपछि चौवाफाँट र आसपासका कृषकलाई राहत मिलेको छ ।

सिँचाइ आयोजनाको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले उद्घाटन गर्नुभयो । सिँचाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री रानाले सबै कृषकलाई व्यावसायिकरुपमा कृषि कर्ममा लाग्न आग्रह गर्नुभयो । उहाँले सरकारको लगानीमा निर्माण भएका भौतिक संरचनाको स्थानीयले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

सिँचाइ योजनाबाट २२० परिवारका एक हजार ४५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । जरे खोला मिलमिलेबाट सेरीखोलासम्म आठ हजार २०० मिटर लम्बाइको सिँचाइ योजना रु आठ करोड ३९ लाखको लागतमा सम्पन्न भएको सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख इञ्जिनीयर विष्णु भण्डारीले बताउनुभयो । विसं २०४३ देखि कुलो निर्माणका लागि स्थानीयले माग गर्दै आएपनि ३६ वर्षपछि माग पूरा भएको छ ।

तपाईको प्रतिक्रिया