नेपालगञ्ज रङ्गशालामा सेन्थेटिक ट्रयाक निर्माण गर्न १४ करोड बजेट विनियोजन

  चैत २४, २०७८

नेपालगञ्ज, चैत २४ : पश्चिम नेपालकै प्रमुख खेल स्टेडियमको रुपमा रहेको नेपालगञ्ज रङ्गशालाको स्तरोन्नतिका लागि सरकारले करिब १४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तयार गरिएको सो रङ्गशालामा सेन्थेटिक ट्रयाक निर्माणको कार्य नगरिएकोले कामविहीन अवस्थामा रहेको थियो । तर बजेट विनियोजन भएपछि रङ्गशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको विशेष पहलमा अर्थ मन्त्रालयले चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने गरी १३ करोड ८५ लाख रुपियाँ बजेट विनियोजन गरेको खेलकुद मन्त्रीका प्रेस सल्लाहकार संगीन शर्माले बताउनुभयो ।

उहाँका अनुसार बाँके निवासी युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्री पद सम्हालेदेखि नै नेपालगञ्ज रङ्गशालाको अधुरो काम पूरा गर्ने प्रतिबद्धता जनाउँदै आउनुभएको थियो ।

मन्त्री गहतराजले रङ्गशालामा सेन्थेटिक ट्याकसँगै फ्लड लाइट जडानका लागि पहल गर्दै आउनुभएकोमा चालु आर्थिक वर्षभित्रै निर्माण कार्य सुरु हुने गरी सेन्थेटिक ट्रयाकका लागि बजेट सुनिश्चित गराउनुभएको प्रेस सल्लाहकार शर्माले बताउनुभयो ।

आठौँ राष्ट्रिय खेलकुदका क्रममा निर्माण सुरु गरिएको सो रङ्गशालाको निर्माण समय अभावका कारण देखाउँदै अधुरै छाडिएको थियो । रनिङ ट्याक (सेन्थेटिक ट्रयाक) निर्माण, फ्लड लाइट जडानलगायतका महत्वपूर्ण काम बाँकी रहेको उक्त रङ्गशालामा अब बाँकी काम हुने भएका छन् ।

बजेट विनियोजन गरिएसँगै नेपालगञ्ज रङ्गशाला स्तरोन्नतीको प्रक्रिया सुरु हुने लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य नरेन्द्र थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया