चैत्राष्टमी मेला आजदेखि

  चैत २४, २०७८

बलेवा, चैत २४ : चैत्राष्टमी (चैतेदसैँ)को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । पर्यटनको प्रवर्धन, संस्कृतिको संरक्षण र परम्पराको निरन्तरता दिन मेला आयोजना गरिएको उहाँले बताउनुभयो ।

बागलुङ कालिका मन्दिर परिसरमा पहिल्यैदेखि व्यापार मेलाका रुपमा चैतेदसैँ मेला लाग्ने गरेको थियो । कालिका भगवती गुठीले केही वर्षअघिदेखि स्वस्फुर्त लाग्ने मेलालाई व्यवस्थापन गर्दै आएको छ । यस वर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको खड्काले जानकारी दिनुभयो ।

आजदेखि सुरु हुने मेला यही चैत २८ गतेसम्म चल्नेछ । मेलामा आयोजना गरिएको भलिबल प्रतियोगिताको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा सागरले उद्घाटन गर्ने कार्यक्रम छ । मूल समारोहको उद्घाटन भने चैत २६ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने गुठीले जनाएको छ । रु. ५३ लाख खर्च हुने अनुमान गरिएको मेला हेर्न कुनै शुल्क नलाग्ने खड्काले जानकारी दिनुभयो । मेलाका लागि कालिका मन्दिर परिसर सिँगारिएको छ । मेलामा झाँकी तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

तपाईको प्रतिक्रिया