सभामुख सापकोटाद्वारा पुलको शिलान्यास

  चैत २३, २०७८

सिन्धुपाल्चोक, चैत २३ : सभामुख अग्निप्रसाद सापकोटाले बह्याणी खोलामाथि बनेको पुलको शिलान्यास गर्नुभएको छ । उहाँले जुगल गाउँपालिका वडा नं १ र ५ जोड्ने ६३ मिटर लामो पुलको आज शिलान्यास गर्नुभयो ।

पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका स्थानीय लाभान्वित हुनेछन् । पुल निर्माणपश्चात सेलाङ र गोल्चेका स्थानीयलाई काठमाडौँलगायत जिल्लाका पूर्वीय क्षेत्रमा आवतजावतमा सहज हुनेछ भने जुगल गाउँपालिकाको बाँकी पाँच वटा वडाका स्थानीयलाई सदरमुकाम चौतारा आवतजावत गर्न सहज हुनेछ । करिब साढे छ करोड लागतमा बन्ने पुल जुगलको ‘लाइफ लाइन’ हुने सभामुख सापकोटाले विश्वास व्यक्त गर्नुभयो ।

सभामुख सापकोटाले परिस्थिति सुहाउँदो विकास निर्माणमा केन्द्रित हुनुको विकल्प नरहेको बताउनुभयो । उहाँले राज्यको तीन तहकै सरकारलाई गुणात्मक विकास निर्माणमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

सभामुख सापकोटाले बलेफी, जलबीरे र तेम्बाथान सडक निर्माणको अवस्थाबारे अवलोकन गर्नुभयो । सभामुख सापकोटा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ द्वारा गोल्चे बगरमा आज आयोजित ‘जनतासँग सभामुख’ कार्यक्रममा सहभागी भई स्थानीयको गुनासो, सुझाव लिनुभयो । उहाँले आफ्ना क्षेत्रका स्थानीयको गुनासो, तथा सुझावअनुसार काम गर्ने विश्वास दिलाउनुभयो ।

तपाईको प्रतिक्रिया