पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

  चैत २३, २०७८

पोखरा, चैत २३ : प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा पोखरामा २०औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । पोखरा–१८ सराङकोटमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

सांसद पहारीले साहसिक पर्यटनका लागि पोखरा उपयुक्त गन्तव्यका रूपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरका रूपमा चिनाउन थप सघाउ पुयाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपश्चात् प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता व्यवसायीमा रहेको जनाउँदै यसको उचित व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको प्राकृतिक सौन्दर्य हिम शृङ्खला र तालको सुन्दरतालाई दृश्यावलोकन गरेर आनन्द लिन सकिने प्याराग्लाइडिङले पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको बताउनुभयो । उहाँले कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रमा विशेष सहुलियत प्याकेजसहित प्याराग्लाइडिङ उडान गरेपछि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको स्मरण गर्दै प्रतियोगितालगायत प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ पुरुष र आठ महिला तथा टेन्डमतर्फ ३७ जना खेलाडीबीच प्रतिस्पर्धा भएको र भोलि बाँकी खेलबीच प्रतिस्पर्धा हुने संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा ७७ ।प्रतियोगी छन् । तीमध्ये आठ जना महिला पाइलट रहेका छन् । प्रतियोगिताको अन्तिम दिन चैत २५ गते विभिन्न सांस्कृतिक वेशभूषासहित पाइलटले कौशल प्रदर्शन गर्नेछन् भने सोही दिन प्रतियोगितामा निकै आकर्षक मानिने एक्रोवेटिक एयर शोसमेत हुने उहाँको भनाइ छ ।

पोखरामा व्यावसायिकरूपमा सञ्चालन भएका ६० भन्दाबढी कम्पनी रहेको र करिब ३६६ प्याराग्लाइडिङ पाइलट रहेको नाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँले कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता स्थगित भएको जनाउँदै यस प्रतियोगिताले पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिता नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोग र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवद्र्धन गरेको हो । उक्त प्रतियोगितामा ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया