रारामा बढ्न थाले पर्यटक

  चैत २३, २०७८

मुगु, चैत २३ : कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा उपयुक्त मौसम भएका कारण पर्यटकको सङ्ख्या बढेको छ । घुम्ने मौसमका साथै कोराना महामारी पनि कमी भएकाले रारा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गत फागुन महिनादेखि यता दैनिक सरदर ५० जनासम्म आन्तरिक र विदेशी पर्यटकहरू रारा भ्रमण गर्न आउनगरेको निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिनुभयो । गतवर्ष कोरोनाका कारणले सुनसान बनेको रारा यो आर्थिक वर्षमा कोरोना न्यूनीकरण भएपछि रारामा आन्तरिक पर्यटक पाँच हजार १२८ जना र विदेशी पर्यटक ५३ जना रारा भ्रमणमा आएका छन् । उहाँका अनुसार यो आर्थिक वर्ष रारामा चहलपहल बढेको हो ।

पर्यटकको आगमन कम हुँदा लामो समयदेखि कामविहीन बनेका रारा आसपासका होटल व्यवसायीहरू पनि आन्तरिक पर्यटक आउन थालेपछि उत्साहित बनेका छन् । रारा भ्रमण गर्न आउने पर्यटक कोही कर्णाली राजमार्ग भएर आउने गरेका छन् भने कोही नेपालगञ्ज हुँदै हवाई मार्गबाट आउने गरेको निकुञ्ज कर्मचारीहरू बताउँछन् । रारा ताल्चा वायुसेवा कार्यालयका स्टेसन प्रमुख नेत्र भामका अनुसार यात्रुको चाप बढेकाले नेपाल वायुसेवाले हप्ताको चार दिन सहुलियत उडान भर्दै आएका छन् ।
रारामा पर्यटकको सङ्ख्यामा बढ्न थालेपछि रारा राष्ट्रिय निकुञ्जको राजस्व यो आर्थिक वर्षमा १० करोड १६ लाख १२ हजार पुगेको छ ।

तपाईको प्रतिक्रिया