भङ्गेरीडाँडामा रग्बी रङ्गशाला निर्माण गरिँदै

  चैत २३, २०७८

भक्तपुर, चैत २३ : चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सुरु भएको छ । झण्डै १३५ रोपनी जग्गामा रु ५५ करोडको लागतमा सो रङ्गशाला निर्माण गर्न लागिएको हो ।

गुरुयोजनाअनूसार रङ्गशाला निर्माण अघि बढाइएको जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष एवं चाँगुनारायण उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो । रङ्गशाला बनाउन नगरपालिकाले जग्गा उपलब्ध गराएको हो । हाल जग्गा सम्याउने काम भइरहेको छ । “भक्तपुरलाई खेलकुदको हब बनाउने योजना छ”, उहाँले भन्नुभयो ।

नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले रङ्गशाला निर्माणका लागि सक्दो बजेट विनियोजन गरेको बताउनुभयो । “बहुवर्षीय योजना भएकाले सङ्घ, प्रदेश र अन्तर्राष्ट्रिय दातृ निकायको समेत सहयोग लिइनेछ”, उहाँले भन्नुभयो । चालिस हजार दर्शक अटाउने क्षमताको उक्त रङ्गशालाको डिपिआर सम्पन्न भएको छ ।

नगरपालिकाले रु ४० लाख विनियोजन गरेको छ । हाल बुट्यान हटाउने र मैदान सम्याउने काम भइरहेको छ । खेलकुदको भवन निर्माणका लागि समेत चाँगुनारायण–५ बाँसघारीस्थित नगर कोट जाने मुख्य सडकमा पाँच रोपनी जग्गा उपलब्ध गराइने नगरपालिकाका प्रमुख मिश्रले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया