गाडी आयातको एलसीमा रोक हुँदा व्यवसायी चिन्तित

  चैत २३, २०७८

काठमाडौँ, चैत २३ : राष्ट्र बैङ्कले बिलासिताका वस्तुको आयात रोक्न सरकारलाई सुझाव दिएपछि अटोमोबाइल व्यवसायीहरू चिन्तित भएका छन् । चुलिँदो व्यापारघाटा र विदेशी मुद्राको सञ्चितिमा निरन्तर कमी आउन थालेपछि बैङ्कले बिलासिताका वस्तुको आयात रोक्न सोमबार सरकारलाई सुझाव दिएको छ ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनका कार्यकारी निर्देशक अहिलेको अवस्था नै प्रतिकूल भएकाले यस्तो निर्देशन आउनु स्वभाविक भएको बताउनुहुन्छ । राष्ट्र बैंकले नै भनेपछि बैंकहरूले त त्यसलाई कार्यान्वयन गर्नैपर्ने उहाँको भनाइ छ ।

महँगा मूल्यका मदिरा, अटोमोबाइल, मोबाइल फोन, कस्मेटिक्स सामान तथा अन्य कम महìवका उपभोग्य वस्तु आयातमा रोक लगाउन सरकारलाई सुझाव दिइएको हो । राष्ट्र बैङ्कले बैङ्कका सीईओहरूलाई नै बोलाएर गाडी, मदिरा र कस्मेटिकका समान आयात रोक्न निर्देशन दिएको हो ।

राष्ट्र बैङ्कले आयातित वस्तुमा जाने गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको हो । विदेशी मुद्राको सञ्चितिमा दबाब बढ्दै गएपछि बैङ्कका सीईओहरूलाई गाडीहरूको एलसी रोक्नलाई निर्देशन दिएको हो । राष्ट्र बैङ्कले यसअघि नै विभिन्न वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

राष्ट्र बैङ्कले गाडी आयातको एलसी रोक्न दिएको निर्देशनले आतङ्कित बनेका अटोमोबाइल व्यवसायीहरू आकस्मिक बैठक बसेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले राष्ट्र बैङ्कको निर्देशनले अटो व्यवसायीहरू हतोत्साही भएको बताउनुहुन्छ । राष्ट्र बैङ्कले अटो व्यवसायीलाई आतङ्कित पार्ने काम गरेको भन्दै राष्ट्र बैङ्कको लिखित निर्देशन आएमा थप छलफल गर्ने अध्यक्ष थापाको भनाइ छ ।

गाडी आयातमा गरिएको कडाइको विषयमा आधिकारिक रूपमा पत्र पाइनसकेको अवस्थामा नाडाले वक्तव्य जारी गर्नेतर्फ नलागेको भन्दै उहाँले भन्नुभयो, मौखिक निर्देशन सुन्नासाथ हामी व्यवसायीहरू आतङ्कित बनेका छौँ, आयात नै बन्द गर्ने राष्ट्र बैङ्कको निर्णयबाट देश डुब्न लागेको सङ्केत बुझिएको छ ।

राष्ट्र बैङ्कले गाडी आयातको एलसी रोक्न निर्देशन दिएपछि नाडाले मङ्गलबार दिउँसो कार्य समिति बैठक बोलाएको थियो । बैठकमा राष्ट्र बैङ्कले दिएको निर्देशनका विषयमा पनि छलफल भए पनि आधिकारिक लिखित निर्देशन नआएसम्म कुनै प्रतिक्रियामा नजाने अध्यक्ष थापाले बताउनुभयो ।

विदेशी मुद्रा सञ्चितिमा कमी आउँदै गएपछि राष्ट्र बैङ्क यसअघि पनि गाडी आयातमा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । यस्तै बैङ्कले विभिन्न ४७ वस्तुको आयातमा ५० प्रतिशतदेखि शतप्रतिशत मार्जिनको व्यवस्था लागू गरेको थियो ।

तपाईको प्रतिक्रिया