जुम्लामा प्रभावकारी बन्दै छोरी सुरक्षा कार्यक्रम

  चैत २२, २०७८

खलङ्गा, चैत २२ : कर्णाली प्रदेश सरकारद्वारा सञ्चालित छोरी सुरक्षा कार्यक्रम जुम्लामा प्रभावकारी बनेको छ । छोरीलाई माध्यमिक शिक्षासम्मको पहुँच वृद्धि गर्न सो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।

सोे कार्यक्रमले लैङ्गिक विभेदको अन्त्य गर्न र उमेर नपुग्दै विवाह गर्ने कार्यलाई रोक्न सहयोग गरेको पातारासी गाउँपालिका महिला बालबालिका शाखाका प्रमुख भगवती गिरीले जानकारी दिनुभयो । यहाँका आठवटै स्थानीय तहमा यो कार्यक्रम लागू भएको छ । हालसम्म यस कार्यक्रमअन्र्तगत जिल्लामा एक हजार ९७४ छोरीको बैंक खाता खोलिएको सामाजिक विकास कार्यालयले जनाएको छ ।

सुरुमा एक हजार रुपैयाँ छोरी सुरक्षा खातामा प्रदेश सरकारमार्फत स्थानीय तहले हरेक महिनामा ५०० रुपैयाँ जम्मा गरिदिन्छन् । अभिभावकको रोहवरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने गर्छ । नगद पनि जम्मा गरिदिने व्यवस्था मिलाएको छ । २०७६ साउनदेखि जन्मेका सबै छोरीको बैंक खाता कार्याक्रमको समन्वयमा खोलिदिएको छ । अहिले छोरी जन्मेपछि जति सक्यो चाँडै छोरीको नाममा खाता खोल्नेको सङ्ख्या बढेको तिला गाउँपालिका महिला तथा बालबालिका शाखाका प्रमुख गौरी थापाले जानकारी दिनुभयो ।

कार्यक्रमले छोरीको जीवन सुरक्षामा राहत पुग्ने विश्वास गरिएको छ । यो रकम २० वर्ष नपुगी निकाल्न मिल्दैन  । छोरीहरूको पढाइ पूरा होस् र उमेर नपुगी विवाह नहोस् भन्ने उद्देश्यले छोरी सुरक्षा कार्यक्रम अघि सारेको प्रदेश सरकारको सामाजिक मन्त्रालयले जनाएको छ । यो कार्यक्रमले बालविवाह घटाउन महत्वपूर्ण भूमिका खेल्ने स्थानीय तहका महिला तथा बालबालिका शाखाका प्रमुख बताउँछन् । छोरी सुरक्षा कार्यक्रमले निकै राम्रो प्रभाव परेको छ । छोरीहरूको आत्मसम्मान बढेको गुठीचौर गाउँपालिका–५ का सङ्गीता धितालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया