काठमाडौं, चैत २२ : सर्वोच्च अदालतले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) का लागि भएको बढुवा सिफारिसविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मंगलबार न्यायाधीश डा.कुमार चुडालको एकल इजलासले एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित दुवै पक्षलाई चैत २८ गते छलफलका लागि बोलाइएको सर्वोच्चका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।
वरिष्ठताक्रम र कार्य क्षमताको आधारमा नभई गैरकानूनी रूपमा बढुवा गरेको उल्लेख गर्दै यही चैत १७ गते प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।
एआइजीमा बढुवाविरुद्ध डीआइजीहरु ईश्वरबाबु कार्की चैत १७ गते र घनश्याम अर्याल र प्रकाशजंग कार्कीले चैत २० गते सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो । सोही विषयलाई लिएर डीआइजी कार्कीसहित तीन जनाले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो ।
त्यस्तै, यसअघि बढुवाविरुद्ध लोकसेवा आयोगमा समेत उजुरी परेको थियो । आयोगले एआइजी बढुवालाई सदर गरेपछि मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको राससले जनाएको छ ।