कृषि गणनाका लागि १६७ केन्द्र

  चैत २२, २०७८

तनहुँ, चैत २२ : राष्ट्रिय कृषिगणनका लागि तनहुँमा १६७ वटा गणना केन्द्र तोकिएका छन् । प्रत्येक १०–१० वर्षको अन्तरालमा हुँदै आएको राष्ट्रिय कृषिगणना यस वर्ष पनि गर्न लागिएको हो ।

आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म करिब ४५ दिनको अवधिमा हुने राष्ट्रिय कृषिगणना कार्यका लागि गणना केन्द्र कायम गरिएको जिल्ला कृषिगणना अधिकृत नवराज पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँका चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिकामा १६७ गणना क्षेत्र तोेकिएको छ ।

उक्त क्षेत्रका करिब चार हजार १७५ जना कृषक परिवारको छनोटपश्चात गणनाकार्य अघि बढाइनेछ । उहाँका अनुसार भानु नगरपालिकामा २०, व्यासमा १८, शुक्लामा १८, भिमादमा १७ गणना क्षेत्र कायम गरिएको छ । त्यसैगरी म्याग्दे गाउँपालिका १६, घिरिङमा १५, ऋषिङमा १८, देवघाटमा १६, बन्दीपुरमा १५ र आँबुखैरेनीमा १४ वटा गणना क्षेत्र रहेका छन् ।

चैत १५ गतेदेखि २१ गतेसम्म गणक तथा सुपरीवेक्षकहरूको तालिम प्रदान गरेपछि फिल्डमा तथ्याङ्क सङ्कलनका लागि पठाइने उहाँले बताउनुभयो । पहिलो चरणमा गणकहरूले छानेका गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगेर तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका कृषक परिवारको सूचीकरण कार्य गरिनेछ ।

त्यसैगरी दोस्रो चरणमा निश्चित तथ्याङ्कीय छनोट विधिबाट सुपरीवेक्षकद्वारा छानिएका कृषक परिवार औषतमा २५ वटामा पुगी गणकहरूद्वारा कृषक परिवार प्रश्नावली फार्ममार्फत कृषकको तथ्याङ्क लिइनेछ । कृषकले चलन गरेको जग्गा तथा पशुपक्षी पालन, अन्य खेती, वातावरणलगायत विविध विषय सम्बन्धी विस्तृत विवरण सङ्कलन गर्नेछ ।

तपाईको प्रतिक्रिया